Media Network

बजेटको करामतः सांसदसहित ६ जनालाई सुनको औंठी उपहार


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

राजविराज । निर्वाचन क्षेत्र विकास कार्यक्रम र प्रदेश मन्त्रालयबाट बजेट दिलाइदिने सांसदसहित ६ जनाले उपहारमा सुनको औंठी लिएका छन् ।  सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदनले भवन निर्माणका लागि बजेट दिलाउन भूमिका खेलेको भन्दै दुई प्रदेश सांसदसहित ६ जनालाई महँगो उपहार दिएको हो ।

प्रदेश सांसद मनीषकुमार सुमन र नेत्रविक्रम साहसहित ६ जनाले सुनको औंठी उपहार पाएका हुन् । साह सेवा सदनको धर्मशालाको पहिलो तला उद्घाटनका अवसरमा प्रदेश सांसदद्वय सुमन र साहसहित आयोजक संस्थाका अध्यक्ष दुर्गाप्रसाद साह, संस्थापक अध्यक्ष रामचन्द्र साह, तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्रकुमार साह र पूर्वसांसद जगदीश साहलाई औंठी उपहार दिँदै सम्मान गरिएको हो ।

प्रत्येकलाई साढे ५ आना तौलको औंठी दिइएको हो । साह सेवा सदन राजविराजका अध्यक्ष दुर्गाप्रसाद साहले ६ जनालाई दिइएको सुनको औंठीको मूल्य २ लाख ५० हजार रहेको बताए ।

प्रदेश सांसद साहले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँ साह सेवा सदनको धर्मशाला निर्माणका लागि दिएकाले सम्मान गरिएको अध्यक्ष साहले बताए । 

यस्तै, प्रदेशका मन्त्रालयबाट बजेट दिलाउन भूमिका खेलेकाले सांसद सुमनलाई सम्मान गरेको उनको भनाइ छ । अन्य चार जनाले संस्थाको भवन निर्माणमा सहयोग गरेको साहलाई उद्धृत गर्दै आजको कान्तिपुर दैनिकले खबर छापेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद