Media Network

पोखरामा देशभरका ६ वटै महानगरको ‘मेयर सम्मेलन’


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

कास्की । पोखरामा शुक्रबारदेखि मेयर सम्मेलन सुरु भएको छ । पोखरा महानगरपालिकाको निमन्त्रणामा मुलुकका ६ वटै महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टिम यतिबेला पोखरामा जुटेका छन् । सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिइएको छ ।

सम्मेलनको कार्यतालिकाअनुसार पहिलो दिन पोखरा, काठमाडौं, विराटनगर, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीबारे धारणा राखेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुति दिनेछन् भने पूर्वाधार विज्ञ सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’ सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ ।

त्यस्तै पूर्वसचिव कृष्ण ज्ञवाली, सुदृढ परियोजनाका सरोज बस्नेतलगायतले प्रस्तुति राख्नेछन् । महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ । सम्मेलनको दोस्रो दिन सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको पोखरा महानगरपालिकाले जनाएको छ । सम्मेलनको पहिलो दिन शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहभागी मेयरहरूले महानगरका साझा चुनौती र कार्यान्वयनमा रहेका जटिलताबारे अनुभव आदानप्रदान गर्ने बताए । भरतपुर र ललितपुरका मेयरको दोस्रो कार्यकाल भए पनि अन्य महानगरका मेयरको कार्यकाल भने पहिलो हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सम्मेलनका उद्देश्य आगामी दिनमा सहयोग र अनुभव आदानप्रदान होस् भन्ने रहेको बताइन् । ‘दिगो विकासको संयन्त्र बनेर नियमित यस्ता कार्यक्रम गरिनेछ,’ उनले भनिन्, ‘अब सम्मेलन गर्ने पालो भरतपुरको । भरतपुर भ्रमण वर्ष २०८० घोषण गरिएको छ, यही सम्मेलनमार्फत सबैलाई निमन्त्रण गर्नेछु ।’ उनले पाँचवर्षे कार्यकालमा कार्य सम्पादनमा सहजता पु¥याउन पनि यस्ता कार्यक्रम राख्नुपर्ने बताइन् । महानगरले पोलिसी बनाएपछि अन्य पालिकालाई पनि सहयोग पुग्ने उनको धारणा छ । नगरपालिका संघ भए पनि महानगरसँग जोडिन नसकेको मेयर दाहालले बताइन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पहिलो पटक मेयर सम्मेलन गरिएको भन्दै खुसी व्यक्त गरे । सम्मेलनमा महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र ५ जना विज्ञ गरी २३ जनाको सहभागिता छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद