Media Network

सप्तकोसीमा हाइअलर्ट जारी, तटीय क्षेत्रमा नजान प्रशासनको अपिल


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौ । सप्तकोसी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। 

पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वाभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ ।नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोतसाधन तयारी अवस्थामा रहेको छ । 

 नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाइअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा छन् । वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा सतर्कता तह पार गर्ने सम्भावना देखिएकाले तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको छ । 

बहाव कोसी ब्यारेजको मापनमा आइपुग्दा पाँच लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने देखिएको छ।यसैबीच कोसीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाइअलर्ट जारी गरेको छ। 

कोसी ब्यारेजले नौ लाख क्युसेक बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले चार लाख क्युसेकमाथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद