Media Network

सप्तकोशी बाढीले डुबानमा फसेका २४ सय परिवारको उद्धार


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

उदयपुर।  उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।

बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।

बुधबार बिहानदेखि साँझसम्म उद्धार जारी राखेर उद्धार गरिएकाे उपरीक्षक अधिकारीको भनाइ छ । कोशी बुधबार बिहान फुटेकाले गर्दा उद्धार गर्न सहज भएकाे र मानवीय क्षति हुनबाट जाेगाउन सफल भएकाे उनले बताए । 


 कोशी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उनको भनाइ छ ।

सप्तकोशीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद