Media Network

पीसीएल नर्सिङमा भर्ना नै रोकियो


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले यो वर्ष पनि पीसीएल नर्सिङको भर्ना रोकेको छ ।

 अन्य विषयमा भर्ना खुले पनि नर्सिङका लागि आवेदन नखुल्दा अभिभावकका साथै एसईई नतिजापछि नर्सिङ अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थी अन्योलमा परेका छन्।

डिप्लोमा तहको सीटीईभीटीतर्फ सामान्य चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, आयुर्वेद, डाइग्नोस्टिक रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, अकुपञ्चर फिजियोथेरापी, योग एन्ड नेचुरोपेथीलगायत विषयमा भर्नाका लागि आवेदन खोलिएको छ ।गतवर्ष पनि सीटीईभीटीले नर्सिङको भर्ना महिनौंसम्म रोकेर राखेको थियो । 

गतवर्ष सीटीईभीटीले ४५ कलेजमा भर्ना खुलाए पनि तीमध्ये १५ वटा शिक्षण संस्थाले स्नातक तहमा पनि नर्सिङ कार्यक्रम सञ्चालन गरेकाले चिकित्सा शिक्षा आयोगले रोक लगाएको थियो । अन्तिम समयमा ३५ कलेजमा करिब १४ सय विद्यार्थीले पढ्ने मौका पाएका थिए । ऐनमा स्नातक र पीसीएल नर्सिङ एउटै शिक्षण संस्था वा कलेजले अध्यापन गराउन नपाउने व्यवस्था छ । स्रोतका अनुसार स्नातक र पीसीएल दुवै तहमा नर्सिङ पठनपाठन गर्ने कलेजहरू कानुनी रूपमा फरक शिक्षण संस्था सञ्चालन गर्न संस्था परिवर्तनको तयारीमा छन । 

ऐनले कम्तीमा आफैं एक सय शय्याको अस्पताल चाहिने व्यवस्था गरेपछि ७५ भन्दा बढी कलेज बन्द अवस्थामा छन । ऐन आउनुअघि सरकारी र निजी अस्पतालको सहकार्यमा यी शिक्षण संस्थाले नर्सिङको कक्षा सञ्चालन गर्दै आएका थिए । धेरै कलेज बन्द भएकाले निजी कलेज सञ्चालकले ऐन नै संशोधन गर्नुपर्ने माग अघि सारेका छन । 

२०७५ मा ऐन जारी हुँदा आफ्नै अस्पताल नभएका शिक्षण संस्थालाई २ वर्षभित्र सय शय्याको अस्पताल बनाउन समय दिइएको थियो । समय दिँदा पनि शिक्षण संस्थाले अस्पताल बनाएका छैनन् । ऐन कार्यान्वय हुनुअघि १ सय ९ नर्सिङ कलेजमा प्रत्येक शैक्षिक सत्रमा ४ हजार ६ सय विद्यार्थीले पढ्ने अवसर पाउँथे ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद