Media Network

त्रिविको ताला खोल्न १३ महाशाखा प्रमुखले जारी गरे संयुक्त विज्ञप्ति


खबरस्टोरी संवाददाता

२७ भाद्र २०७९,सोमबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय लगायतका निकायहरुमा लगाइएका तालाहरु यथाशीघ्र खोल्न आग्रह गरेको छ ।आइतबार त्रिवि केन्द्रीय कार्यालयका १३ महाशाखा प्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो । 

निरन्तर तालाबन्दीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत नकारात्मक असर पर्दै गईरहेको  छ ।

त्रिविलाई थप धरासायी हुनबाट रोक्न र इतिहासको पानामा मात्र सीमित हुनबाट जोगाउन विज्ञप्तिमा अपिल गरिएको छ । वार्ताको माध्यमद्वारा समस्याको दिगो समाधान र विश्वविद्यालयलाई सदाका लागि शान्तिक्षेत्रका रुपमा विकास गर्न पहल गरिदिन सरोकारवालाहरुलाई आग्रहसमेत गरिएको छ ।

‘नयाँ र बजारमुखी शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै राज्यको आवश्यकता अनुसारको जनशक्ति उत्पादन र वितरण कार्यमा निरन्तर लागिरहनु पर्ने विश्वविद्यालयमा आज अस्थिर र अशान्त वातावरण सिर्जना हुन अत्यन्त दुःखदायी र विडम्बनाको विषय हो’ विज्ञप्तिमा भनिएको छ ।

दशै, दिपावली, नेपाल सम्बत्, छठ लगायत नेपालीहरुको महान चाडपर्वहरु आइसकेको अवस्थामा पनि भइरहेको तालाबन्दीका कारण कार्यरत शिक्षक, कर्मचारीहरुको २०७९ आषाढ महिनादेखिको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरुले पेन्सन पाउन नसकेको, निवृत्त भएका शिक्षक तथा कर्मचारीहरुको निवृत्तिभरण तथा उपदानको प्रकृया अगाडि बढ्न नसेकेको, विद्यार्थी तथा अन्य सेवाग्राहीहरुले समयमा पाउनु पर्ने सेवा प्राप्त गर्न नसकेको त्रिविले गुनासो गरेको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,‘शिक्षक, कर्मचारी एवं सम्पूर्ण सेवाग्राहीहरुको मर्म र निराशालाई समयमै सम्बोधन नहंदा मर्म र निराशा आक्रोशमा नबदलिएला भन्न सकिन्न । निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीहरुको न्युनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवं दैनिक प्रशासनिक कार्यहरु सहजरुपमा सञ्चालन गर्न समेत कठिनाई भईरहेको अवस्था प्रति हासो गम्भिर ध्यानाकर्षण भएको छ ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद