Media Network

विद्युत प्राधिकरणको मुनाफामा १६४ प्रतिशतले बृद्धि


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले बृद्धि भएको छ ।

 प्राधिकरणले आव २०७८–७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने बताएको छ । यस अघि आर्थिक वर्ष (आव) २०७७–७८ मा ६ अर्ब १० करोड खुद नाफा भएको थियो । प्राधिकरणको आव २०७८–७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

घिसिङले ऊर्जा खपत २७ प्रतिशत बृद्धि हुँदा बिक्री आम्दानी बढेको बताउदै विद्युत निर्यात समेत बढेको बताए । उनले प्राधिकरणका स्वामित्वका विद्युतगृहरुबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले बृद्धि गर्न सफल भएको बताउदै विद्युत चुहावट समेत घटेको जानकारी दिएका छन् । 

आव २०७२–७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा रहेको छ । आव ०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६–७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७–७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

प्राधिकरणले विद्युत बिक्रीबाट समेत ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ ।

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ । विद्युत प्रणालीमा आव ०७२–७३ मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६–७७मा १५.२५ प्रतिशतमा झरेकोमा आव ०७७–७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । आव २०७८–७९ मा अघिल्लो वर्षको तुलनामा १. ८० प्रतिशतले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए । आव २०७८–७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको बताउदै विद्युत प्रयोग गर्ने ग्राहकको संख्या ५३ लाख पुगेको जानकारी दिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद