Media Network

एनेस्थेसियन डाक्टर नहुँदा पाँच महिनादेखि जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए ।

“चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन थिए उनी पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ”, उनले भने ।

जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको शल्यक्रिया सेवा हुँदै आएको थियो । सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए । अहिले अस्पतालमा सजर्न चिकित्सकसमेत छैनन् ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरबहादुर थापाको सरुवा भएपछि मेसुको पद पनि रिक्त भएको छ । अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ को भएपनि ७ मात्रै कर्मचारी छन् । १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएपनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् ।

थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचेअनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताए । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद