Media Network

इरानमा चर्किएको राष्ट्रव्यापी विद्रोहले उग्र रूप लिदैँ


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

इरान।इरानमा  चर्किएको राष्ट्रव्यापी विद्रोहले उग्र रूप लिएको छ।प्रहरी हिरासतमा रहेकी २२ वर्षीया युवती महसा अमिनीको मृत्यु भएपछि चर्किएको राष्ट्रव्यापी विद्रोहले इरानमा उग्र रूप लिएको हो।

अमिनीलाई हिजाबको आदेश उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

दमनकारी सरकारी नियम र खराब अर्थतन्त्रबाट दिक्क भएका इरानीहरूले इस्लामिक गणतन्त्रको शासन अन्त्यको माग गर्दै आन्दोलन चर्काएका छन्।

विरोध प्रदर्शनमा ठूलो संख्यामा महिला सामेल छन्। उनीहरू महिलाहरूका लागि सार्वजनिक स्थानमा टाउको ढाक्नुपर्ने र खुकुलो कपडा लगाउनुपर्ने नियमको विरोध गरिरहेका छन्। प्रदर्शन देशको कमजोर अर्थतन्त्र र भ्रष्टाचारतिर लक्षित हुन थालेको छ। लामो समयसम्म अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ र यसले आम जीवनको दैनिकीमै असर गरेको छ।

इरानमा सन् २००९ पछिकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ। अधिकारीहरू त्यस समयजस्तै अहिले पनि दमनमा उत्रिएका छन्। धेरै स्थानमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको देखिएको छ। 

८० भन्दा बढी सहरमा फैलिएको प्रदर्शनका कम्तिमा ५० जनाले ज्यान गुमाइसकेका छन्। पत्रकारसहित सयौं पक्राउ परेका छन्।

अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोस्थित मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ। 

इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा एउटा प्रान्तबाट ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिसकेको तस्निम समाचार एजेन्सीले जनाएको छ। गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद