Media Network

इरानमा हिंसात्मक प्रदर्शनः कम्तीमा ५० जना मारिए


खबरस्टोरी संवाददाता

८ आश्विन २०७९,शनिबार

तेहरान । इरानमा हिजाब विरोधी प्रदर्शन चर्किएको छ । हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि हिंसात्मक प्रदर्शन चर्किएको हो । प्रदर्शनमा अहिलेसम्म ५० जनाको ज्यान गइसकेको छ । 

हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाहरुले लगातार आठौं दिन शुक्रबार दिनभर र राती पनि देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । 

अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ । यो संख्या सरकारले सार्वजनिक गरेको भन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद