Media Network

‘स्थानीय तह निर्वाचन : इमानदार उम्मेदवार खोज्दै मतदाता


खबरस्टोरी संवाददाता

२२ बैशाख २०७९,बिहीबार

‘काठमाडौँ । घरअगाडिको सडक छेउको रूखमुनि गम्भीर मुद्रामा बालबालिकासहित बसेका ४—५ जना गफिँदै गरेका थिए । बसेका मध्ये एक अधबैंसे पुरुषले उचित मतदाताका बारे भन्दै थिए, ‘यसपालि भोट कसलाई हाल्ने’ अर्की महिलाले थपिन्, ‘चुनावमा जितेर मात्र जाने र चुनाव जितेपछि आफन्तलाई मात्रै हेर्नेभन्दा गरिबको सुखदुःखमा साथ दिने र स्थानीयको समस्या बुझेर इमानदारीपूर्वक काम गर्नेलाई भोट हाल्नुपर्छ ।’

उनको भनाइमा अर्की महिलाले कुरा थपिन्, ‘होइन, इमानदार कसलाई भन्ने  पैसाको खोला बगाएर जितेपछि त सबै उस्तै हुन्छन् । 

विराटनगरबाट ३० किमि पूर्वदक्षिणस्थित मोरङको सुनवर्षी नगरपालिका–६ झपरतलका स्थानीयमा चुनावी गफगाफ सुरु भएको छ । आफ्ना गाउँनगरको समृद्धिका लागि कस्ता उम्मेदवारलाई छान्ने चासोसहितको बहसमा स्थानीय व्यस्त हुन थालेका छन् ।

स्थानीय विराटलाल ताजपुरियाले नेताहरू चुनाव जितेर गएपछि गाउँमा ५ वर्षमा एउटा सडकसम्म बन्न नसकेको गुनासो पोखे । ‘अघिल्लो पटक हालेको भोट काम लागेन तर यसपालि सोच, विचार गरेर योग्यलाई भोट हालेर जिताउँछौं,’ उनले भने, ‘यसपालि पार्टी हेरेर होइन, गाउँको समस्या बुझेर समाधान गर्न सक्ने इमानदारलाई भोट हाल्छौं । ‘चुनावमा जितेर जाने नेता कसैले पनि कुनै गरिबको सधैं चुलो बाल्न सक्दैन तर चुलो बाल्ने अवस्था निर्माण गर्न सक्छन्,’ उनले भनिन्, ‘भोटका बेला दुई साँझ रक्सी, मासु र रुपैयाँ लिएर भोट हालेसम्म राजनीतिक व्यवस्था बदले पनि हाम्रो अवस्था बदलिँदैन ।’

यस्तै सुनवर्षी–९ डायनियाँस्थित एक चिया पसलमा वृद्धहरूको एक समूह संवादमा व्यस्त थिए । यीमध्ये स्थानीय ७७ वर्षीय लक्ष्मणप्रसाद सिंहले अघिल्लो पटक भोट हालेर जिताएका नेताले स्थानीय सरकारको अनुभूति गराउन नसकेकामा पछुतो मान्दै थिए । ‘अघिल्लो पटक जे भयो भयो, यस पटक स्थानीय सरकारको उपस्थिति महसुस गराउनेलाई जिताउनुपर्छ,’ उनले भने, ‘भोज खुवाउने र पैसा बाँडेर जित्ने उम्मेदवारबाट गाउँ र टोललाई जोगाउनुपर्छ ।’ वृद्धहरूले भन्दै थिए, ‘हाम्रो जमानामा नेताहरू खेत बेचेर राजनीति गर्थे तर अहिलेका नेताहरू राजनीति गरेर खेत किन्छन् ।’ स्थानीय ७६ वर्षीय सिंहेश्वर गनगाईले नेताहरूले राजनीतिलाई पेसा बनाएका कारण नै चौतर्फी बेथिति बढ्दै गएको गुनासो पोखे । ‘स्थानीय तहबाटै राजनीतिक शुद्धीकरण अभियान सुरु हुनुपर्छ,’ उनले भने, ‘यसका लागि अहिलेको स्थानीय तहको चुनावमा राजनीतिलाई पेसा बनाएकालाई पाखा लगाएर जनसेवा भाव भएकालाई जिताउन सक्नुपर्छ ।’ गनगाईले मतदान भनेको मतलाई दान गर्नु हो र यही विषय मतदाताले नबुझेसम्म राजनीतिक शुद्धीकरण हुन नसक्ने बताए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद