‘जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय भएको छ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
विश्वकर्माले भने ‘प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनुहुन्छ। एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निर्णय भएको छ।’
चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो। साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई बस्नका लागि टहरा निर्माण कार्य प्राथमिकतामा राखिएको छ। चिसोले गर्दा अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ।
कांग्रेसले जाजरकोट र रूकुम पश्चिममा गरी कूल एक हजार टहरा बनाउने तयारी गरेको छ।