Media Network

गठबन्धन दलले एउटै चिन्हबाट निर्वाचन लड्न पाउने


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो ।

आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्नसक्ने सुविधा दिएको जानकारी दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

‘दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा दिनुपर्ने व्यवस्था गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।त्यस्तो दल दर्ताको लागि निवेदन दिँदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद