Media Network

पुनःनिर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारः राष्ट्रपति भण्डारी


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएकी छन् ।

भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन आह्वान गरेकी छन् । 

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकका परकम्पले नेपालीलाई विपद्मा पार्नाका साथै पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले बताइन् । भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनःनिर्माण अवधि उपयोग भएको विश्वास उनले व्यक्त गरेकी छन् । 

"भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने संकल्प गरेअनुसार काम भएको छ, बाँकी कामलाई पनि अब सम्बन्धित निकायले तोकिएको समयमै सिध्याउनुपर्छ, भूकम्पपछि २ महिनामै क्षतिको आंकलन गर्न सफल भएजस्तै अहिले पुनःनिर्माण पनि सफल भएको छ,"उनले भनिन् । 

साढे ६ वर्षअघिको भूकम्पले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण महाअभियान २०७२ माघ २ गते सुरु भएको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले समुदायले स्वामित्व लिने गरी पुनःनिर्माणका काम भएकाले दिगो हुने विश्वास व्यक्त गरे । विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदाजस्ता संरचना पुनःनिर्माणमा प्राथमिकता दिएर काम भएअनुसार परिणाम प्राप्त भएको उनको भनाइ थियो । 

अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताएका छन् । भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनःनिर्माण सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए । 

श्रव्यदृश्य सन्देशमार्फत भारतीय विदेशमन्त्री एस जयशंकरले साढे ६ वर्षअघिको भूकम्पले क्षति पुगेका २८ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा भारतले सहयोग गरेको बताए । विद्यालय भवन, स्वास्थ्य संस्था र पुस्तकालय पुनःनिर्माणमा पनि भारतले सहयोग गरेको उनले सुनाए । 

श्रव्यदृश्य सन्देशमार्फत नै चिनियाँ विदेश मामिलामन्त्री वाङ यिले भूकम्पको लगत्तैपछिदेखि उद्धार, राहतका समयदेखि नै चीन नेपालको साथमा रहेको उल्लेख गर्दै पुनःनिर्माण सहयोग मिलेको बताए । कार्यक्रममा जापानका संसदीय एवं विदेश मामिला र उपमन्त्री होण्डा तारो, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, युरोपियन युनियन विपद् व्यवस्थापनका आयुक्त जनेज लेनार्किकलगायत विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सफल रुपमा अघि बढेको बताएका थिए । 

सम्मेलनमा नेपाल पुनः निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले विश्वका विभिन्न देशका ७०० प्रतिनिधि जुम प्रविधिमार्फत् सहभागी भएको जानकारी दिएका छन् । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोनका कारण थोरै मात्र विदेशी विज्ञ भौतिक रुपमा सम्मेलनमा उपस्थित भएका छन् । नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि एवं पर्यवेक्षक गरी १०० जना विदेशी नागरिक पनि भौतिक रुपमा ह्यात होटलमा जम्मा भएका छन् ।

सम्मेलनमा उद्घाटन र समापनसहित २० वटा सत्र रहनेछन् । 'पुनःनिर्माणबाट उत्थानशीलतातर्फ' भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ ।

भूकम्पपछि २०७२ साल असार १० गते पुनःनिर्मााणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनकै जस्तो सहभागिता यसपटक पनि जुटाउने तयारी भए पनि ओमिक्रोनका कारण केही प्रभावित हुने भएको छ । 

सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिममुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास गरिएको छ । प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ भावी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकराणको कामसमेत गरेको छ । सम्मेलन सफल बनाउन प्राधिकरणले ध्यान केन्द्रित गरेको जनाएको छ । 

आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुनःनिर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । प्राधिकरणले नै गरिरहेका केही काम भने त्यस अवधिमै सक्ने गरी तयारी भए पनि त्यो सम्भव नहुने देखिएको छ । प्राधिकरणले अहिले लेखापरीक्षणको कामसमेत गराइरहेको जनाइएको छ ।

सम्मेलनमा राजनीतिक दल, सञ्चारकर्मी र दातृ निकायले भूकम्पपछिको पुनःनिर्माणलाई कसरी हेरेका छन् भनी छुट्टाछुट्टै सत्र राख्न लागिएको छ । सम्मेलनमा विषय विज्ञ, स्वदेशी तथा विदेशी पाहुना एवं विभिन्न संघ संस्थालाई आमन्त्रण गरिएको छ । सम्मेलनमा प्राधिकरणले गरेका कामका विषयमा पनि छुट्टै सत्रको आयोजना गरिएको छ । 

सम्मेलनले नेपाललाई विश्वमा प्रवद्र्धन गर्नसमेत सहयोग गर्ने आशा गरिएको छ । सम्मेलनलाई लक्ष्यित गरी सार्वजनिक गरिएको वेबसाइटमा कार्यक्रमसम्बन्धी महत्वपूर्ण सूचना एवं गतिविधि समावेश गरिएको छ ।

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण भत्केका संरचना पुनःनिर्मााणका लागि त्यसै वर्ष पुस १० गते प्राधिकरण स्थापना भएको हो ।  स्थापनाअघि विसं २०७२ असार १० गते सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनमा रु ४ खर्ब १० अर्ब वैदेशिक सहयोगको प्रतिबद्धता भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउदा पुनःनिर्माणका लागि वास्तविक प्रतिबद्धता रकम रु तीन खर्ब २१ अर्ब रहेको प्राधिकरणले जनाएको छ । यसमध्ये रु ३ खर्ब १३ अर्बको सम्झौता भइसकेको छ । यो कूल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो । 

प्राधिकरणमार्फत् हालसम्म ७ लाख ५९ हजार ७१० घर पुनःनिर्माणको चरणमा रहेको छ । ८ लाख ६६ हजार २०७ जना भूकम्पपीडित प्राधिकरणको लाभग्राही सूचीमा छन् । ८ लाख २७ हजार ३४० जना पीडितले घर पुनःनिर्माणका लागि सम्झौता गरिसकेका छन् । लाभग्राही सूचीमा परेकाले भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि अनुदानस्वरुप रु ३ लाख ३ किस्तामा पाउँछन् ।

साढे ६ वर्षअघिको भूकम्पले करिब ९ हजारको ज्यान लिएको थियो । २२ हजार जना घाइते भएका थिए । करिब ९ लाख निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले १ हजारभन्दा बढी सांस्कृतिक सम्पदा भत्काएको थियो । भूकम्पले जनसङ्ख्याको एक तिहाइलाई प्रभावित बनाएको थियो । रासस

Share:
Reaction :
ताजा समाचार
खेलकुद