Media Network

परराष्ट्रमन्त्री आज चीन जाँदै


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि तथा अमेरिकी सैन्य परियोजना एसपीपीको अन्योलकाबीच अमेरिकी अधिकारीहरुले नेपाल भ्रमण गरेपछि परराष्ट्रमन्त्री खड्का चीनको तीन दिने भ्रमणमा निस्किन लागेका हुन् । 

मंगलबार चीन प्रस्थान गर्न लागेका मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । वाङ्कै निमन्त्रणामा मन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । 

भ्रमणमा दुई मुलुकबीच सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धकाबारेमा छलफल हुने अपेक्षा गरिएको छ । 

सी जिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० बुँदे सम्झौता भएको थियो । त्यसबेला दुवै पक्ष मिलेर बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढाउने पनि भनिएको थियो । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बीआरआई परियोजनामा कुनै प्रगति हुन सकेको छैन । 

नेपालमा एमसीसी परियोजना पास गरिनुका साथै सन् २०१९ मा अमेरिकाले इन्डो प्यासिफिक रणनीति (आईपीएस) को दस्तावेज सार्वजनिक गरेपछि चीन झस्किएको छ । 

ठूलो रस्साकस्सीकाबीच शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सांसदले स्वीकृति दिएपछि एमसीसीलाई गत वर्ष फागुन १५ मा संसद्बाट अनुमोदन भएको थियो । त्यसयता नेपालमा चीनविरोधी गतिविधि बढेको समेत चीनले आरोप लगाएको थियो ।  

एमसीसी अनुमोदन भएको एक महिना नबित्दै गत चैत ११ गते चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल आएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद