Media Network

संसदको अधिवेशन अन्त्यको तयारी, कार्यतालिका फेरबदलमा आयोगको विमती


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले शनिवार मध्येरातीबाट संसदको कार्यकाल सकिने जनाएपछि शनिवार मध्ये रातिबाट संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिकको बन्द सूची पेश गर्ने समयतालिका सार्न गरेको आग्रह अस्वीकार भएपछि संसद अधिवेशन टुङग्याउन लागिएको हो ।

प्रधानमन्त्री देउवाले समानुपातिकको बन्द सूची पेश गर्ने कार्यतालिकामा हेरफेर गर्न आग्रह गरेपनि आयोगले समय अपुग भएकाले सार्न नमिल्ने जवाफ दिएपछि सरकारले शनिवारबाट संसद अधिवेशन टुग्याउने भएको हो ।

संसदमा रहेका विधेयक र नागरिकता विधेयक पनि राष्ट्रपतिबाट प्रमाणिकरण नभइसकेको अवस्थामा सरकारले केही दिन संसद लम्ब्याउन चाहेको थियो तर आयोगले त्यसलाई अस्वीकार गरेपछि संसद अधिवेशन अन्त्य गर्न लागिएको हो ।

त्यसका लागि सभामुख अग्नीप्रसाद सापकोटाले सांसदहरुलाई विदाई गर्ने तयारी समेत थालिसकेका छन् । सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी भएको एक उच्च अधिकारीले बताए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि सुरु हुँदैछ । आइतबार र सोमबार राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम तय गरिएको छ ।

आयोगले बन्दसूची बुझाउने अघिल्लो दिन नै संसदको कार्यकाल सकिने जानकारी गराइसकेको छ । 

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्न नसक्ने जनाउ दिएपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गर्न लागेको हो ।२०७४ साल फागुन २१ गते संघीय संसद भवन नयाँ बानेश्वर छिरेका प्रतिनिधिसभाका सांसदहरु असोज १ गतेबाट बिदा हुन लागेका हुन् । 

संघीय संसद सचिवालयले असोज १ गतेसम्म सांसदहरुको बिदाई कार्यक्रम गर्ने तयारी गरेको छ ।प्रतिनिधिसभाको कार्यर्काल शनिबार सकिने भएपछि २७ विधेयक निष्क्रिय हुने भएका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभाले अड्काएकै कारण ५ विधेयक निष्क्रिय हुँदै छन् । संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि यही सभामा उत्पत्ति भएको विधेयक स्वतः निष्क्रिय भएको मानिने व्यवस्था छ । सरकारले भने प्रतिनिधिसभाको कार्यकाल अन्त्य नभई ११ औं अधिवेशन अन्त्यको घोषणा गर्न लागेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद