Media Network

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ । 

निर्वाचन आयोगले मतदाता नामावली संकलन बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन समेत खुलाइसकेको छ । झण्डै १० वटा दलहरु आयोगमा दर्ता भईसकेका छन् । 

पछिल्लो समययता नेपाली कांग्रेससहित तत्कालीन नेकपाका दुई शीर्ष नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहित जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु एउटै बिन्दुमा छन्, उनीहरु सरकार देखि निर्वाचनमा समेत तालमेल गरेर अगाडि बढ्ने मनस्थितिका साथ दिनहुँ जसो छलफलमा जुटिरहेका छन् ।यता नेकपाबाट एमाले र माओवादी केन्द्र अलग भएका छन् भने एमालेबाट माधव नेपाल पक्षले नयाँ दल दर्ता गरेको छ । 

पाँच दलको सत्ता गठबन्धनले यसअघि स्थानीय तहको चुनावमा भाग लिइसकेका छन् । जसको लाभ कांग्रेसले भरपुर रुपमा लिईसकेको छ ।२०७४ को स्थानीय तहमा बहुमत स्थानमा जित हात पारेको नेकपा एमाले यसपटकको स्थानीय निर्वाचनमा खुम्चिएको छ । 

यता गठबन्धनका कारण यो पटक एमाले कमजोर बन्न पुग्यो ।यद्यपी तालमेल हुँदा पनि एमालेले २ सय ६ स्थानीय तहमा प्रमुख जितेको थियो । स्थानीय तह चुनाव कांग्रेस ३ सय २९, एमाले २ सय ६, माओवादी केन्द्रले १ सय २१, जसपा ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ स्थानीत तह प्रमुख जितेको छ ।


संघीय चुनावमा गठबन्धनलाई सकस 

आगामी मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । 

तर तालमेलको मोडालिटीका बारेमा छलफल गर्नका लागि सबै दलको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय कार्यदल गठन भएको छ र उक्त कार्यदलले छलफल समेत अगाडि बढाएको छ । 

सत्ता गठबन्धनमा रहेका दलहरुलाई सबै निर्वाचन क्षत्रमा गठबन्धन गरेर जान सजिलो भने नरहेको स्वयं नेताहरुले बताइरहेका छन् ।नेताहरुले सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने देखिएको छ । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठिरहेको छ । यसअघि स्थानीय तह निर्वाचनमा पनि एमाले जितेको स्थानमा भागवण्डा गर्ने एक खालको सहमति भएको थियो तर त्यसमा एकीकृत समाजवादीले बिरोध जनाएको थियो । त्यसैले यसपटक पनि एमालेले जितको स्थानमा भागवण्डा गर्ने ढाँचा काम नलाग्ने नेताहरुले बताइरहेका छन् । 

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दम्भ देखाएको आरोप एकीकृत समाजवादी र नेकपा माओवादीसहितका सत्ता साझेदारहरुले गरिरहँदा नेपाली कांग्रसलाई त्यस्ता आरोपहरुलाई चिर्दै आगामी निर्वाचनबाट फाइदा लिन सक्नु पर्ने चुनौती रहेको छ । साउन मसान्तसम्म सिट बाँडफाँटको खाका तयार गर्ने म्यान्डेटसहित कार्यदलले जिम्मेवारी पाएको छ र उक्त कार्यदलले आज यसबारे छलफल गर्दै छ । तर खाका तयार गर्न सहज नभएको नेताहरुको भनाइ छ । 

नेपाली कांग्रेस आफूले १ सय हाराहारी सीट राखेर गठबन्धन गर्ने पक्षमा रहेको कांग्रेसका एक नेताले बताए । तर अन्य दलहरुले पनि आफूहरुलाई कांग्रेसले हेप्न खोजे सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने बताइरहेका छन् । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पनि एमालेले राम्रै मत पाएको भन्दै कांग्रेसले माओवादी र एकीकृत समाजवादीका साथ जसपालाई मिलाएर लैजान सकेको खण्डमा आफू ठूलो दल बन्ने र एमालेलाई साइज राख्दै आगामी सरकारको नेतृत्व गर्न सक्ने छ ।यता गठबन्धनलाई सिट बाँडफाँट टुंगो लगाउन भने सोचेको जस्तो सहज छैन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद