Media Network

स्वदेश फर्किए माओवादी अध्यक्ष दाहाल, भने– ‘भ्रमण सोचेअनुरुप सफल भयो’


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सकेर आईतबार स्वदेश फर्किएका छन् ।

आइतबार साँझ स्वदेश फर्किएका दाहालले भ्रमण सोचेअनुरुप नै सफल भएको बताएका छन् ।त्रिभुवन विमानस्थलमा उत्रिएसँगै सञ्चारकर्मीमाझ आफ्नो तीनदिने भारत भ्रमणमा भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरूसँग भेट भएको बताए । भारतका विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका अधिकारीहरूसँग आफूले भेट गरेको उनले बताए ।

‘भारतका विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भयो । संविधान घोषणाका बेला त्यति राम्रो थिएन । अहिले राम्रो कुराकानी भयो सबै पक्षमा । वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो । खुला कुराकानी भयो । राम्रो कुराकानी भयो । थिंक ट्यांकको कार्यक्रम थियो । सीमा सम्बन्धी समस्या, डुबानका समस्या, व्यापार घाटाका समस्याका कुराहरू भए । खाद्यान्नका, डुबानका विषयमा कुरा भए,’ उनले भने, ’म धेरै आशावादी भएर आएको छु । हामीले गरिरहेका कुराहरू केही सहज हुन्छ भन्ने लागेको छ ।

हामीले पनि उहाँहरूका पार्टीका नेताहरूलाई बोलाओस् भन्ने प्रस्ताव छ । यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ । तत्काल देखिएका केही समस्याहरू पनि समाधानमा आउनेछ । यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा किन रोकियो भन्नेबारे आफूलाई केही जानकारी नआएको उनले बताए । ’मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,’ उनले भने ।भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेस नेतृ आरजु राणासँगको भेटमा स्वास्थ्य उपचारको कामना गरेको उनले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद