Media Network

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा


खबरस्टोरी संवाददाता

४ मंसिर २०८०,सोमबार

काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा परेको छ । अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको छ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको थियो। ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा हुन लागेको हो ।  सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा दुवै खाले प्रतिक्रिया आएका थिए । कतिपयले प्रतिबनध ठीक छ भनेर सरकारी निर्णयको प्रशंसा गरिरहँदा अधिकांशले भने टिकटकमाथि प्रतिबन्ध नभई नियमनको खाँचो रहेको औंल्याएका थिए । 

पक्ष र विपक्षमा विचार आइरहँदा शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । 

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद