Media Network

वन्यजन्तु तस्कर कुन्जोक लामालाई सर्वोच्चले पुनरावेदनको अनुमति दियो


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

 काठमाडौं । वन्यजन्तु तस्कर कुन्जोक लामाको मुद्दामा सर्वोच्च अदालतले पुनरावेदनको अनुमति दिएको छ । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले पुनरावेदनका लागि अनुमति दिएको हो। 

उच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावेदनको माग गर्दै लामाले सर्वोच्चमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले पुनरावेदनका लागि अनुमति दिएको हो। सर्वोच्चले अनुमति दिएसँगै अब कुन्जोकले यसअघिको फैसलाविरुद्ध रिट निवेदन दिने बाटो खुलेको छ।

कुख्यात वन्यजन्तु तस्करको उपमा पाएका कुन्जोकलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा समेत रेड नोटिस जारी गरिएको थियो। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थायी ठेगाना भएका ५० वर्षीय तामाङ विगत १५ वर्षदेखि फरार थिए।

२०६२ भदौ १६ गते रसुवामा पाटे बाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतका छाला २३८ थान र बाघको हड्डी ११३ किलोसहित ५ जना व्यक्ति पक्राउ परेका हुन् ।

फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले २०७७ असार ११ गते काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेको थियो। तामाङलाई कारबाहीका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे पठाइएको थियो। २०७८ वैशाख ८ गते रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले कुन्जोललाई ७ वर्ष कैदको फैसला सुनाएको थियो। 

रसुवा अदालतको फैसलामा चित्त नबुझेपछि कुन्जोक उच्च अदालत पाटन पुगेका थिए। वन्यजन्तु तस्कर घटनामा नाम जोडिएको कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको भन्दै थुनामुक्त गर्न माग गर्न उनी २०७८ असार २८ गते उच्च अदालत पाटन पुगेका थिए। 

उच्च अदालत पाटनले समेत रसुवाकै फैसला सदर गरेको थियो। त्यसपछि उनी पाटनको फैसलाविरुद्ध पनि पुनरावेदन गर्न पाउँ भन्दै सर्वोच्च पुगेका थिए। 

नेपाल–भारत वन्यजन्तु तस्करका कुख्यात नाइके भनेर चिनिएका लामालाई भारतीय प्रहरीको टोलीले समेत खोजीको सूचीमा राखेको थियो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद