Media Network

बुढीगंगा नगरपालिकामा कांग्रेसले मतान्तर घटायो


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जित नजिक पुगेको नेकपा एमालेका उम्मेदवारसँग कांग्रेसले मतान्तर घटाएको छ । एमालेले अग्रता लिइरहेको मेयर उपमेयर दुवै पदमा कांग्रेसले मत बढाउँदै लगेको छ । आइतबार विहानसम्म मेयर उपमेयर दुबैको मतान्तर झण्डै ७ सय मत रहेको छ ।  

१० वटा रहेको नगरपालिकामा आइतबार विहानसम्म ८ वडाको मतगणना सम्पन्न भइसकेको छ । 

मतगणना सकिएको ८ वडामध्ये एमालेले ५ वडा जितेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० को वडाध्यक्षसहित जित हासिल गरेको छ । कांग्रेसले ४, ७ र ८ नम्बर वडा जितेको छ । 

गत वैशाख ३० को मतदान बुथकब्जा भएपछि रद्द गरी विहीबार पुनः मतदान भएको थियो । 

अहिलेसम्मको गणनामा एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनियाले ३ हजार ८ सय ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रंगबहादुर खातीले ३१०३ मत प्राप्त गरेका छन् । 

यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर)ले ३७६७ मत ल्याउँदा कांग्रेसकी रीता शाहीले ३१५१ मत पाएकी छन् ।  

नेकपा एमालेबाट वडा नम्बर १ मा एमालेका रणबहादुर थापा,  वडा नम्बर २ मा पदमबहादुर भण्डारी,  वडा नम्बर ३ मा खड्गबहादुर अधिकारी, वडा नम्बर ९ मा मीनबहादुर सिंह र १० मा दलबहादुर सावद निर्वाचित भएका छन् । 

यस्तै, कांग्रेसबाट वडा नम्बर ४ मा मीनबहादुर शाह, ७ मा भवन सिंह केसी र ८ मा रमेश बहादुर रावल निर्वाचित भएका छन् । 

अब बाँकी रहेको ५ र ६ नम्बर वडामा मतगणना जारी छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद