Media Network

जिसस सर्लाही सभापतिमा कांग्रेस र उपसभापतिमा माओवादी निर्विरोध


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली कांग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार मात्र उम्मेदवारी परेको हो । पद संख्या अनुसार मात्र उम्मेदवारी परेका कारण सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् । 

निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन । 

जिल्ला निर्वाचन स्रोतका अनुसार शुक्रवार अपराह्न ५ बजेपछि निर्विरोध निर्वाचित भएका पदाधिकारीको नाम घोषणा गर्ने तयारी छ । उम्मेदवारी दर्ता प्रक्रिया अनुसार सभापतिमा नेपाली कांग्रेसका कौशल किशोर सिङको मात्र उम्मेदवारी परेको छ । बलरा नगरपालिकाको मेयरमा पराजित भएका सिंह माओवादी केन्द्रसँग नै तालमेल गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । 

यस्तै जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपसभापतिमा नेपाल कम्युनिस्ट पाार्टी (माओवादी केन्द्र) का जितेन्द्र कुमार महतोको मात्र उम्मेदवारी परेको छ ।  सदस्य पदमा नेपाली कांग्रेसका जलाउदिन मिया, राम बहादुर बमजन तामाङ र माओवादी केन्द्रका हिम बहादुर कार्की, महिला सदस्य पदमा नेपाली कांग्रेसकी पासपति देवी थरुनी, रामशिला कुमारी यादव र रेखा देवीको मात्र उम्मेदवारी परेको छ । 

यस्तै दलित एवं अल्पसंख्यक सदस्य पदमा नेपाली कांग्रेसकी सोनावती देवी बैठाको उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । २० वटा पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेस एक्लैको २३ मत रहेको थियो । कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा १२ पालिमामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो । 

दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले जिल्लामा ४ पालिकामा प्रमुख र ४ पालिकामा उप प्रमुख जितेको छ । भने, संघीय समाजवादीले दुई पालिका तथा नेकपा एमाले र  लोकतान्त्रिक समाजवादीले एक÷एक स्थानमा प्रमुख उपप्रमुख जितेका थिए । स्पष्ट बहुमत रहे पनि नेपाली कांग्रेसमा अन्तिम सम्म दुई उम्मेदवारबीच कडा रस्साकस्सी देखियो । 

उम्मेदवारीको अघिल्लो दिन बिहीबार साँझ सम्म कांग्रेसका पूर्व केन्द्रीय सदस्य जंगिलाल रायका भाइ जगर्नाथ राय र कौशल किशोर सिङ टिकटको कडा दौडधुपमा थिए । अन्ततः प्रदेश कमिटीले सिङलाई टिकट दिएर पठाएको हो । सिंहले शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माओवादीसँगको गठबन्धनसहित उम्मेदवारी दिएका हुन् । 

जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, सदस्य, महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्य गरी ९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । यससँगै सर्लाहीमा गत वैशाखमा सुरुभएको स्थानीय तह निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद