Media Network

काठमाडौं उपत्यकामा आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा आज (बुधबार)देखि फोटोसहितको मतदाता नामावली अनलाइन प्रणालीबाट नै दर्ता गर्ने व्यवस्था गरेको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले वेब बेस भोटर लिस्ट प्रि–रजिस्ट्रेसन प्रणाली तयार गरेको हो ।

तर परीक्षणकालको रूपमा काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट बुधबारदेखि सुरु गर्ने गरी आयोगको मङ्गलवार बसेको बैठकले निर्णय गरेको हो । फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा व्यक्तिगत विवरण भर्नुपर्ने छ ।

अनलाइन फारममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद