Media Network

लिङ्देनलाई थापाको चारबुँदे पत्र : छानबिन वा कारबाही ?


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७८,बुधबार

काठमाडौँ। डेढ साताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापा अध्यक्षमा पराजित भए। पराजय भए लगत्तै उनले आफ्नो हारको एकमुष्ट दोष निर्मल निवास माथि थोपर्दै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले "नाङ्गो हस्तक्षेप" गरेको आरोप  लगाए।  पार्टीको चुनावमा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेकै कारण नेतृत्वको चुनावमा आफू पराजित भएको भन्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको भित्ता नै रंगाईदिए।

आफ्नो हारलाई स्वीकार्न नसकेका कमल थापाले अन्तत: सोमवार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न माग गर्दै  चार बुँदे पत्र नै पठाए। पत्रमार्फत उनले पार्टी महाधिवेशनमा पूर्वराजा र निर्मल निवास सचिवालयले हस्तक्षेप गरेकोबारे आफूसँग यथेष्ट प्रमाण रहेको दाबी सम्म गरेका छन्। निर्मल निवासले राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउन चाहेको थापाको आरोप छ। 

‘अध्यक्ष ज्यूसमक्ष म सविनय अनुरोध गर्दछु– पार्टी नेतृत्वको निर्वाचनमा पूर्व राजा र निर्मल निवासको हस्तक्षेपबारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनुहोस्। हस्तक्षेपको भर्त्सना गर्नुहोस्। भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्। राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस्,’ थापाले पत्रमा भनेका छन्। 

२०६२/०६३ को आन्दोलनमा सबैले राजालाई छाडेर हिँडेका बेला आफूले राजाको प्रतिरक्षा गरेको थापाको दावी छ। तर अहिले पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले आफ्नो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको उनको भनाइ छ। थापाले भनेका छन्, ‘२०६२/६३ को आन्दोलनपछि सबैले राजालाई छाडेर हिंडे। राजाले प्रधानमन्त्री, मन्त्री बनाएका तथा राजाको निगाहा पाएका सबै परिवर्तन समयको माग हो, गणतन्त्र जनताको चाहना हो भन्दै नदीको प्रवाहसँगै बगेर जान रूचाए। मैले राजालाई बोकेर हिंडेँ, राजाको प्रतिरक्षा गरेँ, जनअभिमतबाट राजसंस्था पुनःस्थापित गर्ने अधिकार सुनिश्चित गरेँ। तपाईंहरू पनि यो अभियानमा जोडिनु भयो। हिजो गणतन्त्रको गीत गाउनेहरूलाई पनि फर्काउन सफल भयौँ। तर, अहिले पूर्व राजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मुल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ। राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ।’ थापाले ट्विटरमा सम्प्रेषित गरेको पत्रमा भनिएको छ।



के अब उनको आरोपमाथि छानबिन हुन्छ ?

कमल थापाले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई पठाएको चार बुँदे पत्रले एतिबेला सबैको ध्यान तानेको छ। के उनले ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि लगाएको आरोपमाथि  छानबिन हुन्छ ? यो सबैको मनमा प्रश्न बनेर खडा भएको छ। यता यहि पत्रलाई लिएर अध्यक्ष लिङ्देन भने अनविज्ञ छन्। थापाले लेखेको पत्र आफुले नपाएको बताउंदै सञ्चारमाध्यमहरूमार्फत् पत्रबारे थाहा पाएको लिङ्देन बताउछन्। उनि भन्छन् “त्यस्तो आरोपमाथि पनि के छानबिन गर्नु ? त्यसको कुनै अर्थै छैन।”


थापामाथि कारबाही ?

अहिले धेरैले पार्टी नेतृत्वमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्रमाथि लगाएको आरोपको आलोचना गर्दै आएका छन्। अझ  कतिपयले त्यसलाई हारको अभिव्यक्ति भनिरहेका छन्। तर थापा भने त्यसलाई स्वीकार गर्न तयार देखिदैनन् । अर्कोतिर राप्रपाको नयाँ नेतृत्वले पूर्वराजाबारे थापाका अभिव्यक्तिहरूलाई “असुहाउँदो” भन्दै आएको छ।

अध्यक्ष लिङ्देन आफू निर्वाचित भएपछि थापाले बधाई दिन कुरा गरेपछि आफूहरूबीच कुनै पनि वार्तालाप नभएको बताउछन्। उनि भन्छन् ''आफुबीच कुनै संवाद नभएपनि त्यस्ता अभिव्यक्ति नदिन नेताहरूमार्फत्‌ उहाँसम्म कुरा पुर्‍याउँदै आएको छु,'' । हाल थापामाथि कारबाही गर्ने बिषयबारे नसोचेको तर, पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि थापाले आक्षेप लगाउने क्रम नरोकिए भावी कदमबारे सोच्न आफूहरू बाध्य हुने अध्यक्ष लिङ्देनले चेतावनी दिएका छन् ।









Share:
Reaction :
ताजा समाचार
खेलकुद