Media Network

प्रचण्डले चितवन ३ बाटै चुनाव लड्ने


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाटै चुनाव लड्ने बताएका छन् । प्रचण्डले कुन निर्वाचनबाट चुनाव लड्लान् भन्ने चासो भइरहँदा उनले आफू चितवनको क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्ने बताएका हुन् । 

जापानमा रहेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै आफूले चार÷पाँच महिना अघिदेखि नै चितवनबाटै चुनाव लड्ने बताइसकेको पनि स्पष्ट गरे । स्वतन्त्र लगायतका विभिन्न पार्टीका युवाहरुले प्रचण्डको चुनावी क्षेत्रबाटै चुनाव लड्ने चेतावनी दिए पनि प्रचण्ड कहाँबाट उठ्छन् भन्ने स्पष्ट नहुँदा युवाहरु अन्योलमा थिए । 

प्रचण्डले आफू चितवन ३ बाट नै उठ्ने स्पष्ट गर्दै जापानमा रहेका नेपालीलाई सहयोग गर्न पनि आग्रह गरे । प्रचण्डले आफूलाई मुलुकको समृद्धिको चिन्ता भए पनि देशको केन्द्र भएकाले चितवनलाई महत्व दिएको पनि उल्लेख गरे । 

उनले आफूलाई चुनाव लड्न धेरै ठाउँबाट नेता कार्यकर्ताले आग्रह गरेको भए पनि आफू चितवनबाट नै चुनाव लड्ने बताए । 

‘मलाई चुनाव लड्न कालिकोट, रूकुम, गोरखा, धनुषा, सिराहाका नेता÷कार्यकर्ताले आग्रह गरिरहेका छन्’, उनले भने, ‘तर म चितवन ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला ।’ 

आफू आए विकास तीब्र रुपमा हुन्छ भन्ने साथीहरुलाई परेको भए पनि यसपटक चितवनबाट चुनाव लड्ने बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद