Media Network

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल असोज १ मा सकिने


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते सकिने भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ ।

आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ । प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयन दर्ता नहुँदा सम्म मात्रै रहने ब्यवस्था छ । अघिल्लो निर्वाचनमा पनि बन्दसूचीमा नाम समावेश भएपछि ओनसरी घर्तीले सभामुखबाट राजीनामा दिएकी थिइन् ।

संविधानको धारा ९१ को उपधारा ६ (क) मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ ।  

आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारीसमेत दिइसकेको छ । प्रतिनिधिसभामा विचाराधिन अवस्थामा रहेका विधेयकहरु अब ४० दिनभित्रै परित गर्नुपर्ने भएको छ । ४० दिनभित्र ती विधेयकहरु पारित नभएमा स्वतः निश्क्रिय हुनेछन् । 

संसद सचिवालयकाअनुसार, प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् भने राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा १० वटा विधेयक अड्किएका छन् । 

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट चुनिन्छन् ।

निर्वाचन आयोगले साउन १९ गतेसम्म दर्ता भएका ११६ राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । दल दर्ताको अवधि साउन ३१ सम्म छ । 

निवेदनमाथि छानबिन भने साउन १ देखि ७ सम्म हुने आयोगले जनाएको छ । दल दर्ता स्वीकृति भदौ ८ मा हुनेछ । 

आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद