Media Network

टिकट हत्याउन चौधरीको दौडधुप, कार्कीको पक्षमा काँग्रेस कार्यकर्ता उत्रिए


खबरस्टोरी संवाददाता

१४ आश्विन २०७९,शुक्रबार

नवलपुर । पूर्वी नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले ठाउँ नछाडेपछि क्षेत्र नम्बर २ मा टिकट हत्याउन अर्बपति विनोद चौधरी लागि परेका छन् ।  यसअघि समानुपातिक उम्मेदवार भएकालाई समानुपातिकमा पुनः सिट नदिने काँग्रेसको विधानअनुसार अर्बपति चौधरीले समानुपातिकको टिकट नपाएपछि प्रत्यक्ष निर्वाचनका लागि टिकट हत्याउन लागि परेका हुन् ।

नवलपुर १ बाट टिकट नपाउने निश्चित भएपछि उनले निर्वाचन क्षेत्र नम्बर २ बाट टिकट हत्याउन लागि परेका छन् । तर यसपटक पनि विष्णुकुमार कार्कीलाई नै टिकट दिनुपर्ने भन्दै नेता कार्यकर्ताले पार्टी केन्द्रमा दबाब थालेका छन् । 

काँग्रेस महासमिति सदस्य कार्की २०७४ सालको निर्वाचनमा झिनो मत अन्तरले एमालेसँग पराजित भएका थिए । नवलपुर २ बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेका तिलबहादुर महत क्षेत्री (तिलक महत) ३९ हजार ५३ मत प्राप्त गरी विजयी हुँदा कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए । 


कार्कीको ठाउँबाट चौधरीले टिकट लिने प्रयास गरेपछि नवलपुर २ का काँग्रेस नेता कार्यकर्ताहरु काठमाडौं आएर पार्टी नेतृत्वलाई दबाब दिएका छन् । मतदातालाई मात्र होइन, जिल्लाका सक्रिय नेता कार्यकर्तालाई समेत नचिन्ने चौधरीले जित्न नसक्ने भन्दै उनीहरुले कार्कीलाई नै टिकट दिन पार्टी शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । आफ्नो क्षेत्रमा पाइला नटेकेको चौधरी हावी हुन खोजेपछि स्थानीय नेता कार्यकर्ता आक्रोशित बनेका छन् । 

काँग्रेस महासमिति सदस्य तथा जनजाती महासङ्घ केन्द्रीय अध्यक्ष ओमबहादुर थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा समक्ष कार्कीलाई टिकट दिनुपर्ने एक सुत्रीय माग राखेको प्रदेशसभा कार्यसमिति–२ख का सचिव सतिश राईले बताए । कार्कीबाहेक अरुलाई टिकट दिएमा दुर्घटना हुनेसमेत उनीहरुले चेतावनी दिएका छन् । 


२०७४ को निर्वाचनमा बाम गठबन्धनको उम्मेदवार महतसँग झिनो मत अन्तरले पराजित भएका कार्की पराजित भएपछि पनि पार्टीमा क्रियाशिल भई संगठन विस्तारमा सक्रिए थिए । जिल्लामै पार्टी संगठनमा क्रियाशील कार्की स्थानीय रुपमा समाजसेवीका रुपमा परिचित छन् । ब्यक्तिगत रुपमा पनि करोडौं लगानी गरि सामाजिक सेवा तथा विकास निर्माणमा सक्रिय कार्कीलाई नै टिकट दिनुपर्ने स्थानीय काँग्रेस कार्यकर्ताको माग छ ।  

पार्टी नेता कार्यकर्तामा स्थापित सामाजिक तथा विकासप्रेमी नेताले टिकट नपाउने तर शक्ति र पहुँचका भरमा मात्र टिकट दिने हो भने पार्टीले ठूलो क्षति ब्यहोर्ने प्रदेश सभा सभापति कृष्णप्रसाद तिवारीले चेतावनी दिए । 


वडा सभापति, ३ वटा पालिका सभापति तथा पदाधीकारी, प्रदेशसभा कार्य समिति सभापतिसहित पदाधिकारी, क्षेत्रीय सभापति तथा पदाधीकारी, जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधि सथै महासमिति सदस्यहरुसहितको टिमले विष्णु कार्कीलाई नै टिकट दिनुपर्ने माग गर्दै देउवासहित शीर्ष नेताहरुलाई दबाब दिएका छन् । आफूहरुले पार्टी सभापतिसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, बरिष्ठ नेता रामचन्द्र पौडेल, डा. सशांक कोइराला लगायतका नेताहरुलाई छुट्टाछुट्टै भेट गरी कार्कीलाई टिकट दिलाउन माग गरेको मध्यविन्दु नगर सभापति दोमन भण्डारीले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद