भोटेकोशीमा खसेर हराएको बोलेरो गाडी ७ घण्टापछि नदीबाट निकालिए पनि त्यसमा सवार यात्रु भेटिएका छैनन् । बा २० च २१८५ नं. को बोलेरो गाडीमा चालक र एक जना महिला मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।
बोलेरोका चालक भोटेकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा र जीपमा सवार बाहृबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङको अवस्था अज्ञात छ ।
बालेरो जीप शुक्रबार बिहान बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्याण्ड ढुङ्गाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट भोटेकोशी नदीमा खसेको थियो । नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेको कमाण्डमा ७ जनाको टोली खटिएर खोजीमा जुटेका थिए । मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मगाइएको एउटा क्रेनबाट प्रहरीले बालेको खोजी गरेको थियो ।