Media Network

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आम हड्ताल


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आम हड्ताल गरिएको छ ।विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत आज सुदूरपश्चिम प्रदेशमा आम हड्ताल गरेको हो ।
हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लामा रात्रिकालीन सवारी साधन भित्रिने क्रम भने जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

शैक्षिक संस्था, बजार व्यवसाय पनि सञ्चालन हुन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले हड्तालका कारण अत्यावश्यकबाहेकका सेवा प्रभावित भएको जानकारी दिए ।

२९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने निर्णय गरेको थियो तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो ।

सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।

सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने संघर्ष समितिले जनाएको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद