Media Network

मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु


खबरस्टोरी संवाददाता

९ फाल्गुन २०७९,मंगलवार

जनकपुर । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । 

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत् सुरुवात हुने परम्परा छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरू सोमवार जनकपुरधाममा विश्राम गरेर ९मंगलवार० आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् । परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत् सुरुवात गरेका थिए । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताए । उनले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला विहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 


हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरूले झाँकी, भजन, कीर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद