Media Network

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, झण्डै आठ हजार उत्तीर्ण


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौँ । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षामा आठ हजार ७८५ जना उतीर्ण भएका छन् । भाषा परीक्षामा सहभागी हुन १८ हजार ५९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए । उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा भदौमा सार्वजनिक भइसकेको छ ।

पहिलो चरणमा सात हजार १४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । उत्पादनतर्फ सन् ०२३ का लागि केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ । सन् ०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भई रोष्टरमा रहेका दुई तिहाई व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने भएको हो । ०२२ मा उत्पादनतर्फ १५ हजार ९२७ जना भाषा परीक्षा उत्तीर्ण भई रोष्टरमा छन् ।

सन् ०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर–जनवरी महिनामा हुनेछ । सन् ०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दा बढीको रोजगार सम्झौता आइसकेको छ ।

दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ । नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली (इपिएस) सम्झौता भएको थियो ।इपिएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद