Media Network

सामुदायिक विद्यालयमा अब इण्टर्न शिक्षक


खबरस्टोरी संवाददाता

१४ भाद्र २०८१,शुक्रबार

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अभाव पुरा गर्न यस वर्षदेखि इण्टर्न शिक्षकको अवधारणा अघि सारेको छ । स्थानीय तहले लिएको आधारभुत तहको आठ कक्षा, राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १० र १२ को परीक्षा, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ईआरओले गरेको अध्ययनमा गणित, अंग्रेजी र विज्ञान विषयको नतिजा कमजोर पाए पछि मन्त्रालयले सामुदायिक विद्यालयमा इण्टर्न शिक्षक खटाउने नीति अघि सारेको हो ।

सरकारले अंग्रेजी, गणित र विज्ञान विषयमा इण्टर्न शिक्षक पठाउन यसपाली १० करोड रुपैंया बजेट बिनियोजन गरेको छ । यी तीन विषयमा विद्यार्थी संख्या बढी र शिक्षक दरबन्दी कम भएका सामुदायिक विद्यालयमा इण्र्टन शिक्षक परिचालन गर्ने मन्त्रालयले योजना बनाएको हो । जुन योजनालाई अर्थ मन्त्रालयले पनि स्वीकृत दिईसकेको छ । इण्टर्न शिक्षक छनोट, परिचालन र व्यवस्थापन गर्न मन्त्रालयले छुटटै कार्यविधि बनाउने भएको छ । कार्यविधिको आधारमा इण्टर्न शिक्षक आवश्यक पर्ने विद्यालय संख्या र कुन विद्यालयमा कति संख्यामा कुन विषयको इण्टर्न आवश्यक पर्ने हो पहिचान गर्न लागेको अर्थ मन्त्रालयबाट स्वीकृत भएको योजनामा उल्लेख छ । इण्टर्न शिक्षकको लागि आवेदन संकलन र छनोट गरेर अभिमुखीकरण पछि मात्रै विद्यालयमा पदस्थापन गर्ने मन्त्रालयको तयारी छ । 

सुमना श्रेष्ठ शिक्षा मन्त्री भएको समयमा मन्त्रालयले मातहतका कार्यालयमा इण्टर्न प्रयोग गर्ने कार्यविधि जारी गरिसकेको छ । अब विद्यालयमा इण्टर्न शिक्षक परिचालन गर्न अर्को कार्यविधि बनाउनु पर्ने हुन्छ । गैर सरकारी संस्थाहरुले सामुदायिक विद्यालयमा इण्टर्न शिक्षक परिचालन गरेको भए पनि सरकारी स्तरबाट पहिलो पटक यो अभ्यास गर्न लागेको हो । मावि र निमावि तहमा विषयगत शिक्षक नभएका विद्यालयको संख्या सबै भन्दा बढी छ । छ हजार पाँच सय एक मावि मध्ये ७१ वटामा मात्रै गणित, विज्ञान र अंग्रेजी तीनै विषयका शिक्षक अध्यापनरत रहेको सरकारले २०७५ सालमा गठन गरेको कार्यदलको निष्कर्श छ । डा। महाश्रम शर्मा संयोजक रहेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५ ले सरकारलाई बुझाएको प्रतिवेदनमा मावि र निमाविमा समान तह र दरबन्दीमा कार्यरत विज्ञान, गणित र अंग्रेजी शिक्षकको संख्या न्यून रेको उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद