Media Network

सिटी र इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, हालान्डको पाँच गोल


खबरस्टोरी संवाददाता

१ चैत्र २०७९,बुधबार

काठमाडौं । एर्लिङ हाल्यान्डको पाँच गोल प्रेरित आरबी लाइपजिकमाथि अन्तिम १६ दोस्रो लेगमा ७-० गोलको नतिजामा शानदार जित निकाल्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटर फाइनल प्रवेश गरेको छ ।
पहिलो लेगमा १-१ को बराबरी खेलेको सिटी समग्रमा ८-१ को जितसहित क्वाटर फाइनल प्रवेश गरेको हो ।
खेलको २२औँ मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि हाल्यान्डले नै गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता थप बढाएका थिए ।
जारी सिजन सिटीका लागि हाल्यान्डको यो पाँचौँ ह्याट्रिक हो । गुन्डोगानले ४९औँ मिनेटमा गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अघि बढाएका थिए ।
हाल्यान्डले ५३औँ र ५७औँ मिनेटमा गरेको गोलमा सिटीले अग्रता ६-० मा पुर्‍याएको थियो । खेलको इन्जुरी समयमा केभिन डी ब्रुयनाले सिटीका लागि सातौँ गोल गरेका थिए ।

यसै, सिजन मात्र बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका हाल्यान्डले सबैखाले प्रतियोगिता गरी ३९ गोल गरिसकेका छन् । यससँगै उनले टमी जोन्सनले १९२८–२९ सिजनमा राखेको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत तोडेका छन् ।

यस्तै, मंगलवार राति सम्पन्न अन्तिम १६ अन्तर्गतको अर्को खेलमा पपोर्चुगिज क्लब एफसी पोर्टोलाई समग्रमा १–० गोलको नतिजामा पराजित गर्दै इटालियन क्लब इन्टर मिलान १२ वर्ष पछि च्याम्पियन्स लिगको क्वाटर फाइनल पुगेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद