Media Network

महासंघको केन्द्रीय सदस्य उठ्दै युवा उद्यमी चिराग गाेयल


खबरस्टोरी संवाददाता

१७ चैत्र २०७९,शुक्रबार

काठमाडौं। नयाँ नेतृत्व चयनका लागि चैत्र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि हरेक दिन जसो नयाँ नयाँ उम्मेदवारी घोषणा भइरहेका छन् । यस क्रममा एसोसिएट तर्फबाट केन्द्रीय सदस्यका लागि गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले पनि उम्मेदवारी घोषणा गरेका छन् । व्यवसायी घरानाको महत्वपूर्ण जिम्मेवारीमा रहेका गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्ररणा दिनका लागि पनि आफु चुनाबी माहोलमा होमिएको बताएका छन् ।

निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय गरेर समस्या समाधान गर्नका लागि आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको नेतृत्वका लागि मैदानमा उत्रिएका गोयल युवा उद्यमी हुन् । विगत एक दशकदेखि व्यवसायीक क्षेत्रमा लागिरहेका उनी निर्माण, खानी तथा सूचना प्रविधिमा आबद्ध रहेका छन् । आफू व्यवसायी भए पनि नाफामा मात्र नभई समाज र राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने गरि काम गरिरहेको उनी सुनाउँछन् । नाफाका लागि त सबैले काम गर्छन तर राज्यको विकासका लागि हामीले सोच्नु पर्ने उनी बताउँछन् ।

गोयलले विनाशकारी भूकम्प र कोभिड महामारीका बेलामा समेत थुप्रै कामहरू गरे । जसले उनलाई समाज सेवीका रुपमा पनि स्थापित गरेको छ । उनले भूकम्पपछि संस्था स्थापना गरेर १ हजार ६३ वटा घर बनाए । आफूले गरेको कामको प्रचार गर्ने भन्दा पनि त्यसले परिणाम दिनु पर्नेमा विश्वास राख्ने गोयलले कोरोना महामारीका बेलामा समेत क्वारेनटाइन निर्माण गर्नका लागि आफ्नो निजी निवास समेत निःशुल्क उपलब्ध गराएका थिए । त्यसका साथै उनले निःशुल्क रुपमा खाना समेत वितरण गरेका थिए ।

ठूलो दिलका गोयलले चैत २८ गते हुने महासंघको महाधिवेशनबाट कार्यसमितिमा गएर देशको विकासमा टेवा पु¥याउने योजनामा रहेको छ । उनले अहिले महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । एफएनसीसीआईको निर्वाचनमा एक होनाहार युवा उम्मेदवारकारुपमा उत्रिएका उनी नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) को काठमाडौं च्याप्टरको अध्यक्ष समेत हुन् । एनवाईईएफ मार्फत पनि उनले सामाजिक काम गरिहेका छन् । युवाहरुलाई व्यवसायमा आकर्षित गर्नका लागि पनि आफूले महासंघको चुनावी मैदामा उत्रिएको उनी सुनाउँछन् ।

स्टार्टअप र युवा उद्यमीहरूको विकास गर्न मद्दत गर्न प्रतिबद्ध संस्थाको नेतृत्व गरिरहेका उनी विशेषगरि पछिल्लो समय युवा उद्यमीहरूको समस्यामा केन्द्रित छन् । त्यस्ता समस्याहरूलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि उनी सहयोग गर्दै आएका छन् ।

उच्च विद्यालय र विश्वविद्यालय स्तरमा उद्यमशीलता र रोजगारी सिर्जनाको बारेमा चेतना जगाउने उद्देश्यले विभिन्न सेमिनार, कार्यक्रम र सम्मेलनहरू सञ्चालन गरेर एनवाईईएफ मार्फत नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्नका लागि पनि गोयल लागि परेका छन् । उनको मुख्य एजेन्डा युवाहरूलाई उद्यमशीलतामा प्रवर्द्धन गर्नु र यो बाटो लिन चाहने महिलाहरूलाई सहयोग प्रदान गर्ने रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद