Media Network

नागढुंगा सुरुङमार्गको अवस्थाः ४४ महिनामा सम्पन्न हुनुपर्ने काम ३ बर्षमा आधा, म्याद सकिन ६ महिना मात्र बाँकी


खबरस्टोरी संवाददाता

२९ पुष २०७९,शुक्रबार

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा नौविसे सुरुङमार्गको कामले घर्कदो समयावधिका बाबजुद तिब्रता पाउन सकेको छैन् । 

२०७६ को कार्तिकबाट काम थालिएको सुरुङमार्ग ४४ महिनामा सम्पन्न गर्ने गरी अर्थात २०८० को असारसम्म सम्पन्नको लक्ष्य राखिएको भएपनि अहिलेसम्म आधा काम पनि पुरा हुन सकेको छैन् ।

सो आयोजनाको हालसम्मको भौतिक प्रगति लगभग ४७.९० प्रतिशत मात्रै छ । अर्थात आयोजनाको अझै आधाभन्दा बढी काम बाँकी नै छ । आयोजनाका अनुसार काम सुरु भएको ३८ महिनासम्म आयोजनाको मुख्य सुरुङमार्ग १ हजार ७ सय ८२ मिटरमात्रै खनिएको छ । निर्माण सम्पन्न गर्नेबेलासम्म २ हजार ६ सय ८८ मिटर खनिसक्नुपर्ने उक्त सुरुङमार्गको प्रगति पनि भनेबमोजिम भईसकेको छैन ।

सहायक सुरुङमार्ग पनि हालसम्म जम्मा २ हजार ४६ मिटर मात्रै खनेको छ । आयोजनाका अनुसार सहायक र मुख्य गरी सुरुङमार्ग मात्रै ५ हजार ४ सय ९९ मिटर खन्नुपर्नेमा हालसम्म यसको प्रगति ७३ दशमलव ३ प्रतिशत अर्थात ४ हजार २९ मिटरमात्र छ ।देशका अन्य भूभागबाट संघीय राजधानी काठमाडौंको आवतजावत सहज बनाउन निर्माण भइरहेको सुरुङमार्गमा दुईओटा सुरुङमार्ग हुनेछन् । एउटामा सवारीसाधन गुड्नेछन् भने अर्काे ईभ्याकुएसन्सँगै सुरुङभित्र विग्रेका सवारीसाधनलाई सुरक्षितसँग बाहिर ल्याउने काममा प्रयोग गरिनेछ ।

आयोजनाले दुवै सुरुङलाई जोड्नका लागि सुरुङमार्गको बीचबीचमा क्रस प्यासेज पानि बनाउँदै आएको छ । काठमाडौं र नागढुंगा दुबैतर्फबाट खन्न सुरु गरिएको सुरुङमार्गमा हालसम्म क्रस प्यासेजका लागि १ सय २८ मिटर खन्नुपर्नेमा ७४.२० मिटर खनिएको छ । 

आयोजनालाई सबैभन्दा बढी समस्या भने काठमाडौंतर्फ सुरुङमार्ग र मुख्य सडक जोड्ने एप्रोच बनाउने काममा देखिएको छ । खासगरी काठमाडौंतर्फ मुख्य सडक र सुरुङमार्गको अन्तिम विन्दु जोड्ने गरी फ्लाईओभर बनाउन लागिएको छ । उक्त फ्लाईओभर बनाउन आवश्यक स्थानको मुआव्जा लिनका लागि केही स्थानीयले नमानिरहेको अवस्था छ ।

फ्लाईओभरका लागि आवश्यक जग्गामध्ये हालसम्म ९५ प्रतिशत जग्गाको एकिन भएर २ ओटा फाउन्डेसन पनि हालिसकिएको छ । फ्लाईओभर निर्माणका लागि आयोजनाले २ ओटा फाउन्डेसनसँगै २ ओटा सवस्ट्रक्चर पनि तयार पारिसकेको छ । यस्तै आयोजनाले सुरुङमार्गका लागि आवश्यक अन्य भौतिक संरचना जस्तै कल्भर्ट, अन्डरपास, ओभरपास र पुलको निर्माण भने सम्पन्न गरिसकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद