Media Network

निर्यात व्यापारमा गिरावट : एक महिनामा मात्र १४ अर्ब ८१ करोडको वस्तु निर्यात


खबरस्टोरी संवाददाता

३० भाद्र २०७९,बिहीबार

काठमाडौं । मुलुकको निर्यात व्यापारमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पहिलो महिनाको प्रतिवेदन अनुसार मुलुकको निर्यात व्यापारमा गिरावट देखिएको हो । 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८ दशमलव सात प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव नौं प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६ दशमलव पाँच प्रतिशत र २४ दशमलव चार प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात पाँच दशमलव सात प्रतिशतले वद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु आयात १२ दशमलव नौं प्रतिशतले कमी आई एक खर्ब ३१ अर्ब २९ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव एक प्रतिशत, १० दशमलव पाँच प्रतिशत र १५ दशमलव नौं प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस् , कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ । नर्याततर्पm कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

राष्ट्र बैंकका अनुुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १० दशमलव चार प्रतिशतले कमी आई एक खर्ब १६ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड बराबरको भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद