Media Network

ठूला जहाजले अब ‘रनवे फेर्न’ नपाउने, आईएफआर उडानमा प्राधिकरणको जोड


खबरस्टोरी संवाददाता

१८ माघ २०७९,बुधबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै विमानहरुका लागि नयाँ नियम ल्याएको छ ।  जसअनुसार जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न नपाउने भएका छन् ।  भीएफआर (भिज्युअल फ्लाइट रुल) अनुसार जहाज अवतरणका क्रममा निर्धारित धावनमार्गबाट नै जहाज अवतरण गर्नुपर्नेछ ।

 गत १ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाजले सुरुमा रनवे धावनमार्गको एक छेउ ‘थ्रीजीरो’बाट अवतरणका लागि अनुमति पाएको थियो । तर, पाइलटले जहाजलाई मोडेर अर्को छेउ ‘वानटु’बाट जहाज अवतरण गराउने निर्णय लिएका थिए । जहाज जमिनको धेरै तल आइसकेको अवस्थामा लिइएको यो अस्वभाविक फन्कोलाई नै विज्ञहरुले दुर्घटनाको कारण बताउदै आएका छन् ।

प्राधिकरणका अनुसार अब सो उचाइभन्दा तल आइसकेपछि जहाज मोड्ने वा अर्को धावनमार्गमा जाने गरी अनुमति पाउने छैनन् । आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल)मा भने कुन अवस्थामा कति उचाइ कायम गर्ने भन्ने सम्बन्धमा जहाजले नै सोही प्रोफाइल कायम गरी अवतरण हुने गर्छ ।


भीएफआर भन्दा आईएफआर उडानमा प्राधिकरणको जोड 

प्राधिकरणका अनुसार अब आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल) प्रणाली जडान भएका सबै विमानस्थलमा भीएफआर (भिज्युअल फ्लाइट रुल) अनुसार जहाज उडाउन प्राधिकरणले रोक लगाएको छ ।

प्राधिकरणको यो नियम अनुसार अब तराईका सबै विमानस्थल र पोखरा (आईएफआर सिस्टम जडान भएपछि)मा भीएफआर उडान हुने छैन । यो नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अनिवार्य लागु हुने भएको छ । तर, यसमा साना जहाजहरु (ट्वीनअटर, एलईटी–४१०, डोर्नियर)लगायतमा भने अनिवार्य गरिएको छैन । ठूला जहाजले आईएफआर प्रणालीमा मात्र रहेर उडान गर्नुपर्ने भएको छ ।


पाइलट र को–पाइलट परिवर्तन नहुने

प्राधिकरणले कुनै एक गन्तव्यबाट जहाज उडाएर गएको पाइलट जोडी बीचमा परिवर्तन गर्ने सकिने नियम परिवर्तन गरेको छ ।

 यसअघि कुनै एक पाइलट÷कोपाइलटको ड्युटीआवर सकिने अवस्था रहँदा जहाजमा अर्को एक पाइलटलाई यात्रुका रुपमा लगेर फर्किँदा उनी ककपिटमा बस्ने र शुरुमा ककपिटमा बसेको पाइलट यात्रु सिटमा बस्न पाउने व्यवस्था थियो । केही छिनमै ककपिटमा जोडी परिवर्तन गर्दा समन्वयमा जोखिम हुने भन्दै प्राधिकरणले यस्तो नियम ल्याएको बताएको छ ।

अब काठमाडौंबाट विराटनगर जाँदा कुनै एक पाइलटको ड्युटीआवर सकिने अवस्था छ भने वायुसेवा कम्पनीले सो जहाज विराटनगर फर्कंदासम्म पुग्ने गरी ड्युटीआवर भएको पाइलटलाई मात्र ककपिटमा राख्न पाउने भएका छन् ।


घट्यो पाइलटको ड्युटीआवर 

प्राधिकरणले देशका विभिन्न दुर्गम भेगका विमानस्थलमा उडान गर्ने पाइलटको दैनिक ड्युटीआवर समेत घटाएको छ । अब यी विमानस्थलमा एक जना पाइलटले दैनिक ८ घण्टा वा ८ उडान÷अवतरण मात्र गर्न सक्ने छन् । यसअघि यो १० घण्टा वा १० उडान अवतरण रहेको थियो । सुगममा भने ड्युटीआवर यथावत रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद