ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ । उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट सीसी टिभी फुजेटमा देखिएको तस्वीर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो । यसको २४ घन्टा नवित्दै प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।
शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।
उनी सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।