Media Network

मध्यरातमा किन सडकमा ओर्लिए हजारौं इजरायली?


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७९,सोमबार

काठमाडौँ।इजरायलमा आइतबार राति हजारौं नागरिक सडकमा उत्रिए। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि पनि प्रदर्शन गरे। सडकमा आगो बालेर उनीहरूले विभिन्न बाजा बजाए।

कतिपय ठाउँमा प्रहरीसँग उनीहरूको झडप भयो। कहीँ भीड तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हान्यो। सोमबार बिहान पनि प्रदर्शनकारीहरू सडकमै छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नेतन्याहुले रक्षा मन्त्री योअभ गालान्टलाई  बर्खास्त गरेपछि नागरिकहरू उक्त कदमको विरूद्ध सडकमा ओर्लिएका हुन्। रक्षा मन्त्री गालान्टलाई बर्खास्त गरेको विरोधमा इजरायलका केही विश्वविद्यालयले सोमबार आफ्नो पढाइ बन्द गरेका छन्। श्रमिक युनियनका नेताहरूले आम हड्तालको चेतावनी दिएका छन्।

द गार्डियनका अनुसार इजरायलको न्यायालयसम्बन्धी एउटा विधेयक तत्काल पास गर्न नहुने र कम्तीमा अप्रिलमा हुने स्वतन्त्रता दिवसको विदासम्म कुर्नुपर्ने अभिव्यक्ति दिएका कारण रक्षामन्त्री गालान्टलाई प्रधानमन्त्री नेतन्याहुले बर्खास्त गरेका हुन्।

तीन महिनाअघि मात्र रक्षा मन्त्री नियुक्त भएका ६४ वर्षीय गालान्ट पूर्वनौसैनिक कमाण्डो हुन्। बर्खास्त हुनु एकदिन अघि एक टेलिभिजन अन्तर्वार्तामा उनले गठबन्धन सरकारले न्यायालय पुनर्संरचनासम्बन्धी विधेयक तत्काल पास गर्न नहुने बताएका थिए। नेतन्याहु सरकारले यसै साता संसदबाट पारित गर्न खोजेको उक्त विधेयक रोक्नु पर्ने बताएपछि गालान्ट बर्खास्तीमा परेका हुन्।

सन् २०१९ यता पाँच पटक आम निर्वाचन भइसकेको इजरायलमा पछिल्लो समय नेतन्याहुको नेतृत्वमा सरकार बनाएको गठबन्धनमा दक्षिणपन्थी हो। पछिल्लो समय गठबन्धन सरकारले १२० सदस्यीय संसदको सामान्य बहुमतले सर्वोच्च अदालतका लगभग सबै फैसला रद्द गरिदिन सक्ने र अदालतका न्यायाधीशहरू राजनीतिक दलहरूले नियुक्त गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। उक्त विधेयक पारित भए शक्ति पृथकीकरणमा महत्वपूर्ण भूमिका रहेको स्वतन्त्र न्यायालयको अस्तित्व सकिने भन्दै विरोध भइरहेको छ।

इजरायलको अदालतमा प्रधानमन्त्री नेतन्याहुविरूद्ध भ्रष्टाचार मुद्दा छन्। अदालतको उनको मुद्दामा फैसला गरेर राजनीतिका लागि अयोग्य घोषणा गरिदिन सक्ने डरले नेतन्याहुले अहिलेको विधेयक ल्याएको आलोचकहरूको भनाइ छ।

नेतन्याहु सरकारले ल्याएको यो विधेयकले एकातिर इजरायलभरि प्रदर्शन भइरहेको छ भने अर्कातिर सेना र अमेरिकासँगको सम्बन्ध पनि चिसिएको छ। इजरायली सेनाले उक्त विधेयकको पक्षमा आफूलाई उभ्याएको छैन। इजरायली सेनालाई वार्षिक ठूलो सहयोग गर्ने अमेरिका पनि उक्त विधेयकप्रति रूष्ट छ।

विधेयकका विरूद्ध यसअघि बाह्य रूपमा मात्र आलोचना भइरहेको भए पनि अब त्यो विवाद नेतन्याहुको मन्त्रिपरिषदमै पुगिसकेको छ।

आइतबार राति भएको प्रदर्शनपछि सत्ता गठबन्धनकै केही सांसदहरूले पनि विधेयक पारित गर्न हतार गर्न नहुने बताएका छन्।

सन् १९९६ मा पहिलो पटक इजरायलको प्रधानमन्त्री बनेका ७३ वर्षीय नेतन्याहुले अहिले इजरायलको इतिहासमै सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गरिरहेका छन्। अहिलेको विवादलाई उनले सुझबुझपूर्ण तरिकाले पार लगाउन सकेनन् भने इजरायल इतिहासकै गम्भीर संकटमा पर्ने देखिन्छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद