Media Network

सोमाली सुरक्षा फौजको कारवाहीमा २१ अल शबाब लडाकु मारिए


खबरस्टोरी संवाददाता

२१ कार्तिक २०७९,सोमबार

काठमाडौँ।अफ्रिकी मुलुक सोमालियाको राष्ट्रिय जासुसी एवम् सुरक्षा एजेन्सी (निसा) ले मुलुकको मध्य भागमा गरेको कारवाहीमा लडाकु समूह अल शबाबका २१ लडाकु मारिएका छन् ।

कारवाहीमा अरु दर्जनौँ लडाकु घाइते भएका छन् । स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको योजनाबारे गुप्तचर निकायले पूर्वसूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारवाही गरिएको सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

सोमाली सेनाले गरेको कारवाहीका क्रममा गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो आतंककारीहरूका लागि ठूलो प्रहार हो र यसको अर्थ राष्ट्रिय सेनाले चार दिनभित्र अल–शबाबका करिब २०० सदस्यहरूलाई मारेको छ ।’’

मन्त्रालयले अल–शबाब लडाकुहरुलाई परास्त गर्न सामूहिक संकल्पको महत्त्वलाई स्वीकार गरेकोमा सोमाली जनताप्रति कृतज्ञता व्यक्त गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद