Media Network

ट्रम्पलाई जेल पुर्‍याउन सक्ने चार मुद्दा


खबरस्टोरी संवाददाता

१७ चैत्र २०७९,शुक्रबार

काठमाडौं । डोनाल्ड ट्रम्प फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति हुन् । यसपटक उनलाई पोर्न स्टार स्टोर्मी डेनिल्सलाई मौन बस्नका लागि पैसा र दबाव दिएको अभियोग लागेको छ । राष्ट्रपतीय निर्वाचनमा असर पुग्ने भन्दै ट्रम्पले डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको अभियोग लागेको हो।

यसबाहेक ट्रम्पले थप तीन मुद्दा पनि खेपेका थिए । उनको कम्पनी विरूद्ध जालसाजीको मुद्दा परेको थियो । त्यसमा न्युयोर्क सहरको महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन आकर्षित हुनेगरी अनुसन्धान गरेको थियो भने म्यानहटनले सार्वजनिक मुद्दा सम्बन्धी कानुन आकर्षित हुनेगरी मुद्दा अघि बढाएको थियो । गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरिवाना तिर्नुपरेको थियो ।

यस्तै, ट्रम्पका वित्तीय प्रमुख एलन विसल्वर्गलाई पाँच महिनाको जेल सजायँ तोकिएको थियो । म्यानहटनले ट्रम्पको परिवारलाई नै सार्वजनिक मुद्दा चलाएको छ । अवैध तरिकाले अर्बौं सम्पत्ति जम्मा गरेको अभियोगको फैसला आगामी अक्टोबरसम्म आउने अपेक्षा गरिएको छ ।

ट्रम्पमाथि न्याय तथा कानुन मन्त्रालयले ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब गराएको अभियोग लगाएको छ । उनले ती कागजात फ्लोरिडा पुर्याएको भन्दै उनको निवासमा छापा समेत मारिएको थियो । उनको निवासमा ११ हजार कागजात जफत गर्दा १०० कागजात वेपत्तामध्ये रहेको दाबी गरिएको छ ।

ट्रम्पले जासुसी सम्बन्धी कानुनको उल्लंघन पनि गरेको भन्दै फौजदारी अभियोग चलाइएको छ । मुद्दा अभियोजन गर्दा भनिएको छ, ‘ट्रम्पले जासुसी सम्बन्धी कानुनको उल्लंघन मात्रै गरेका छैनन् छानबिनमा असहयोग गरेर न्यायमा अवरोध गरेका छन् ।’

ट्रम्प गिरफ्तारमा पर्नसक्ने अर्को मुद्दा संसदमा भड्काएको दंगा हो । राष्ट्रपती निर्वाचनको परिणाम अस्वीकार गर्दै उनले समर्थकहरूलाई आक्रमणका लागि उक्साएको आरोप लागेको छ । यस घटनामा १८ महिनासम्म संसदीय छानबिन चलेको थियो । यसलाई लिएर पनि फौजदारी मुद्दा चलाइएको छ । यस मुद्दामा बयानका लागि ट्रम्पलाई हालसम्म अदालत बोलाइएको छैन । तर छिट्टै बोलाउन सक्ने संभावना रहेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

अहिले पनि ट्रम्पमाथि फौजदारी अभियोग लागेको हो । डेनियल्सलाई त्रासमा राखेर पैसा दिएको प्रमाणित भए उनी जेल जानसक्छन् 

आफूविरूद्धको अभियोगलाई ट्रम्पले ‘राजनीतिक प्रेरित’ भन्ने गरेका छन् । ‘ममाथि राजनीतिक प्रतिशोधका साथ मुद्दा चलाइएको छ । मेरो लोकप्रियताप्रति सबैलाई त्रास छ,’ उनको भनाइ छ । आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने उनको योजना छ । फौजदारी अभियोग पुष्टि भए ट्रम्पको अभिष्टमा ब्रेक लाग्नेछ ।

पोर्नस्टार डेनिल्सको सवालमा पनि उनले इन्कारी जवाफ दिएका छन् । पोर्नस्टारसँग कुनै सम्बन्ध नरहेको ट्रम्पको जवाफ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद