न...">
Media Network

दैनिकी फेरिएको खारा भिडन्तका घाइते छापामारको कथा


खबरस्टोरी संवाददाता

२५ असार २०८१,सोमबार

नवलपरासी । जुम्ला तातोपानीका गोरखबहादुर राउत बिहानदेखि बेलुकासम्म पनि गाईवस्तुको स्याहारसुसारमा लाग्छन् । 

टिनले छाएको घरको घरको दक्षिणतर्फको पालीमा सात वटा गाई बाँधेका छन् । गोठ ब्यस्थित बनाउन नसक्दा ११ वटा गाईमा चार वटा बेचिदिए । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ७ साँढमा विगत ७ वर्षदेखि गाईपालन गर्दै आएका राउत तत्कालिन माओवादी सेनाका लडाकू हुन् । 

अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकू मध्य १५ हजार ६३० जना लडाकू ‘स्वेच्छिक अवकाश’ रोजेर घर फर्किएका थिए भने १ हजार ४२१ जना नेपाली सेनामा समायोजन भएका थिए । १५ हजार ६ सय ३० लडाकु मध्येका एक लडाकु राउत सेना समायोजनकाबेला जनसेनाको चौथो डिभिजन हेडक्वाटर अन्तर्गतको हात्तिखोर शिविरमा थिए । जतिबेला उनि गौरब उपनामले चिनिए । 

माओवादी सेनाका छैंठौ डिभिजनको २७ नम्बर बटालियनका सदस्य राउत चौंथो डिभिजनको क्यान्टोन्मेन्ट अन्तर्गतको हात्तीखोर शिविरमा आइपुग्दा ब्रिगेड कार्यालयमा थिए । 

लहडमै माओवादी भए 

जुम्लाको साबिक लाम्रा नमुना गाविस घर भएका राउतलाई बिचार सून्य थिए । २०५२÷५३ सालमा मशालका कार्यकर्ताहरुको गीत सुनेर प्रभावित भए । आफूजस्ता सामान्य वर्गका मान्छेलाई माया गरेको देखेका उनीहरुलाई नेपाली सेनाले बारम्बार दुःख दिन थाल्यो । राज्यबाट पनि पिछडिएको महशुस गरेका राउतले माओवादीबाट सहयोग हुन थालेपछि यिनीहरु नै हाम्रो मान्छे रैछन् कि भन्ने लागेर माओवादीतिर लागे । 

०५६ सालतिर माओवादीप्रति आकर्षित भएर लागेका उनी जुम्ला पार्टीमा जोडिए । माओवादीको प्रारम्भिक युवा दस्ता मानिने जनमिलिशियामा स्थानीय टोलको जिम्मेवारी पाएका राउत २०५८ सालको मंसिरमा जनमुक्ति सेनामा लामबद्ध भए । 

खारा भिडन्तमा घाइते 

पहिलो पटक मिलिशियामा जोडिएपछि गृहजिल्ला जुम्लामै पहिलो लडाईको अनुभूति गरेका रावतलाई शुरु शुरुमा आफ्नो ज्यान सुरक्षित राख्न ग्रिनेट थमाइएको थियो । 

रुकुमको खारा सत्पोलिया, पाल्पाको तानसेन, सुनवलको रमवापुर, कालीकोटको पिली, कपिलबस्तु, मुगुको ठूला भिडन्त हुँदै दर्जनौं साना भिडन्तमा सहभागी भएका राउतलाई धेरै ठाउँको सम्झना छैन । 

कैलालीको आमखैया, बाँकेको चिसापानी कृष्ण मन्दिर, स्याङजाको भटुके, छिपछिपे बैदु, तनहुँको ढुंगेढाँठी, नवलपरासीको चोरमारा थुप्रै भिडन्तमा सहभागी उनी रुकुमको खारामा घाइते हुन पुगे । ‘संसार जितिन्छ भनेर साथीहरुको लासमाथि टेक्दै दुई दिनसम्म लडियो, नेतृत्वको कमजोरीले ब्याक हट्नु पर्यो ।’–उनले विगत सम्झिए । 

गाईबस्तुको स्याहारसुसारमा ब्यस्त राउत भन्छन्– अब सम्झिएर पनि के पनि के गर्ने, अब बिर्सनै पर्ने रहेछ । उनले विगतलाई कोट्याउन चाहेनन् । तर उनले जीवनमै नर्बिसिने चोट खारामा पाएका थिए । बायाँ हात र खुट्टाको फिलामा लागेको जनयुद्धको डोब अहिले पनि मेटिएको छैन । 

पूर्व माओवादी लडाकु राउतले शान्ति प्रक्रियामा आएपछि खार भिडन्तको रक्तमुछेल अवस्थाको आफ्नो तस्विर क्यामेराको रिलबाट निकालेर शान्ति मन्त्रालयमा पनि नपुर्याएका होइनन् । शान्ति मन्त्रालयमा पठाइएको फाइल कता हरायो उनले अहिलेसम्म पत्तो पाएका छैनन् । 

पार्टीको अन्तरबिरोधले हिनताबोध

खारामा लागेको गोलीको छर्रा बोकेर चौंथो डिभिजनको क्यान्टोन्मेन्ट अन्तर्गत हात्तीखोरमा आइपुग्दा उनी ब्रिगेड कार्यालयमा थिए । त्यही क्यान्टोन्मेन्टमा समायोजनको अन्तिम समयमा पार्टी फुटको संघारमा पुग्यो ।

‘पार्टीमा अन्तरबिरोध चर्को भइसकेको रहेछ । कोही कसैसँग बोल्नै नहुने । जोसँग बोल्यो, यो त त्यो गुटको भन्ने भइसकेछ ।’–उनले भने– ‘त्यतिबेला कहाँबाट कहाँ आएर फसियो भन्ने महशुश भयो ।’

ब्यारेकमा हुँदा बाहिरको अवस्था बुझ्नै नपाइने, भेडाजस्तै । पार्टीभित्र अन्तरबिरोध के थियो भन्नेसमेत ब्यारेकमा हुँदा थाहा भएन उनलाई । कुनै साथीभाइसँगै हिड्योको कि किरण पक्ष र बाबुराम पक्ष भन्ने भएपछि उनलाई हिनता बोध भयो । 

श्रम गरेर बाँच्ने आशा पलायो

सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेपछि राउतलाई जुम्ला जान मन भएर । यतै रहेर संघर्ष गर्ने मन पलायो । सानातिना पसल गरेर, चिया पसल थापेर पनि बाँच्न सकिन्छ होला भन्ने उनलाई लाग्यो । 

घाइते अपाङ्ग भएपछि क्यान्टोनमेन्टबाट बाहिर निस्किनुपर्ने निश्चित थियो । त्यसभन्दाअघि नै जनमुक्ति सेनाबाट केहीलाई वाइसीएल लगायतका संगठनमा ल्याउने कुरा चलेको थियो । राज्यसत्ता कब्जा गर्न पर्यो भन्ने कमाण्डरहरुले उनीहरुलाई भन्न थाले । त्यसैको लागि वाईसीएल बनाएको नेताहरुले उनीहरुको दिमागमा भरिदिए । त्यतिबेला निस्कनेको सूचिमा राउतको नाम पनि पर्यो । तर अन्तिममा उनी ब्यारेकबाट बाहिर निस्कनु परेन । कसलाई निकाल्दा सहयोग हुन्छ, कसलाई सहयोग भन्ने रैछ भन्ने अहिले बल्ल उनले बुझेका छन् । 

अवकाश रोेजेपछि गोरेटो बदलियो

जनमुक्तिसेनाबाट स्वेच्छिक अवकाश रोजेपछि उनलाई पाँच लाख रुपैयाँ हात पर्यो । त्यहि पैसाले उनको जीवनमा नयाँ मोड आयो । 

क्यान्टोन्मेन्टको टहरा निर्माणका लागि बाँस लिन आएकाबेला सस्तो मूल्यमा यता जग्गा पाइन्छ भन्ने उनले भेउ पाएका थिए । त्यसैले उनी केही कमरेडहरुका साथ त्यतातिर हानिए, जहाँ अहिले उनी आफू गाईपालन गरेर बसेका छन् । ‘१० जनाको टिम बनाएर थुप्रै जग्गा लिने योजना बनाएको सबै साथीहरु तयार भएनन् ।’ उनले भने ।  त्यतिबेला यहाँ जग्गा एकदमै सस्तो थियो । बझाङका प्रकाश साउद, हुम्लाको विशेष रोकाया, रचना एडी आएर जग्गा मात्र हेरेनन् । तर अरु साथीहरु जग्गा बेचेर हिडे । कालीकोटका एक जना साथीले घर बनाएर पनि बेचेर गएको उनले बताए ।  

सुब्बाजीले ३५ हजार हालेर ३ बिगाहा जग्गा किन्दा राउतले एक वर्ष ढिला गरी १२ हजार रुपैयाँमा ८ कठ्ठा जमीन खरिद गरे । शुरुवातमा एक दुई वटा पोखरी खन्न खोज्दा सँधियारले नदिएपछि अरु १२ हजार थपेर अरु ८ कठ्ठा जग्गा पनि राउतले खरिद गरे । र, त्यहाँका अन्य पार्टीका स्थानीय नेताका हातबाट कागज गराए । अहिले त्यो ठाउँमा कठ्ठाको एक लाखमा पनि जग्गा नपाइने उनले सुनाए । 

अनि, भयो गाईपालनको शुरुवात

जनताको मुक्तिमा लागेको मान्छेले बिकल्पमा स्वेच्छिक अवकाश रोजेपछि पाएको थोरै पैसाबाट सस्तो मूल्यको जग्गामा लगाए । बाँकी पैसाले बस्ने टहरो बनाए र केही पैसा पशुपालनमा लगानी गरे । 

त्यतिबेला बच्चा सानै भएकाले दूध किन्नुपर्ने आश्यकता थियो । अनि एउटा गाई ल्याएर उनले गाईपाल्न शुरुवात गरे । दैनिक १७–१८ लिटर दूध दिने राम्रो गाई पर्यो । ०७० सालमा परासीबाट एउटा गाइ किनेर ल्याएपछि उनको नयाँ संघर्ष शुरु भयो । एउटा गाईबाट बाच्छा बाच्छी गरी दुई तीन वटा भए । 

त्यसपछि उनी माछा पोखरी खनाउनेतिर लागे । गाईको दूधबाट आम्दानी शुरु हुन थालेपछि दूध बेचेर भएको आम्दानीबाट नै उनलाई गाईपालन ब्यवसाय बढाउँदै जाने सोंच पलायो । शुरुमा ल्याएको गाई राम्रो परेपछि उनलाई ब्यवसायिक पशुपालनमा आकर्षण बढ्दै गयो ।  

अरु जग्गामा तीन वटा माछा पोखरी बनाएका छन् भने अरु ९ वटा पोखरी वार्षिक २० हजार रुपैयाँमा लिजमा लिएका छन् । माछापोखरीको डिलमा गाईलाई खुवाउनका लागि सुपर नेपियर जातको घाँस लगाएका छन् । 

१३ वर्षकी जुम्ली केटीसँग मागी विवाह गरेका राउतले श्रीमति, एक छोरी र एक छोरालाई खुशीसँग राखेका छन् भने उनले अहिले कसैसँग गुहार माग्नु परेको छैन । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद