Media Network

प्रचण्डसँग माधव नेपालले भने- राष्ट्रपतिको उम्मेदवार म नै हुनुपर्छ


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७९,बिहीबार

काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेपालले प्रचण्डलाई आफू नै राष्ट्रपति उम्मेदवार हुनुपर्ने बताएका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार जवाफमा प्रचण्डले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन आफू तयार रहेको भए पनि अरू दलसँग छलफल गर्नुपर्ने बताएका थिए।

उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए।

एकीकृत समाजवादीका नेता भुसालले पनि चुनावअघिको गठबन्धन ब्युँताउने भए आफ्नो पार्टीको भूमिका कहाँ हुने भन्ने स्पष्ट हुनुपर्ने बताएका थिए।

प्रचण्डले यी सबै विषयमा कांग्रेसलगायत दलसँग छलफल गर्नुपर्ने जवाफ दिएका थिए। 

नेपालसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लाग्ने बताए।

‘राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लागिहाल्छ नि,’ उनले भने। २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। 

चुनावअघिको गठबन्धन ब्युँतिन लागेको होरु भन्ने अर्को प्रश्नमा उनले भने-अहिले टुंगो लागेको छैन।

यसअघि बुधबार साँझ बालुवाटारमा भएको वार्तामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो। उक्त सहमतिलाई औपचारिकता दिन आज विभिन्न दलले पार्टीभित्र र अन्तरपार्टी छलफल गरिरहेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद