Media Network

सहकारी ठगीमा रविलाई सफाइ, गोरखा मिडियामा जिम्मेवार


खबरस्टोरी संवाददाता

१ आश्विन २०८१,मंगलवार

काठमाडौं । सहकारी दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न नरहेको निश्कर्ष निकालेको छ । 

समितिले संसदमा पेश गरेको प्रतिवेदनमा सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नभए पनि सहकारीबाट गोरखा मिडियामा आएको करोडौं रुपैयाँ लामिछानेले नै परिचालन गरेको ठहर छ । 

सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा करिब ८५ करोड रुपैयाँ प्रवाह भएको र उक्त रकम प्रवन्ध निर्देशकको हैसियतमा लामिछानेले परिचालन गरेको पनि समितिले स्पष्ट गरेको छ । गोरखा मिडियामा गएको सबै रकम सहकारीबाट नै गएको पनि स्पष्ट भएको छ । त्यसैले उक्त कारोबारको जवाफदेहि रवि नै हुनुपर्ने पनि समितिले भनेको छ । 

सहकारीबाट गोरखा मिडियामा रकम ल्याउनका लागि भने जीवी राईकै प्रमुख हात रहेको समितिको निश्कर्ष छ । सूर्यदर्शनका गितेन्द्रबाबु राईसहित पाँच सहकारीका सञ्चालक थानबहादुर बुढा, सहाराका दिनेश रोक्का, सुप्रिम सहकारका सागर केसी, सानोपाइलाका तस्बिरण खातुन र स्वर्णलक्ष्मीका भूपेन्द्र राईले पनि गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह गर्न संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । 

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्कको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष जिबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ भनी प्रतिवेदनमा उल्लेख गरिएको छ । 

रास्वपा सभापतिसमेत रहेका लामिछाने गृहमन्त्री भएका बेला सहकारी ठगीबारेमा संसदमा कुरा उठेको थियो । तर पनि लामिछानेले जीवीलाई पक्राउ गरेनन् । जीवी विदेश रहेको सूचना पाएको उनले बताएका थिए भने प्रहरी प्रमुखले समेत जीवी विदेशमा रहेको र रविको कुनै संलग्नता नदेखिएको संसदीय समितिमै गएर प्रष्टिकरण दिएका थिए । 

फरार रहेका सहकारी संस्थाको रकम दुरुपयोगमा संलग्न रहेको भनिएकाहरुलाई शीघ्र खोजी गरी कानुनी दायरामा ल्याउन समितिले सरकारलाई पनि निर्देशन दिएको छ । सहकारीको प्रतिवेदन संसदमा प्रस्तुत भए लगत्तै सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएका छन् । यद्यपि लामिछानेले भने संसदीय समितिको प्रतिवेदनपछि आफू निर्दोष सावित भएको बताएका छन् भने लामिछाने नेतृत्वको रास्वपा नेता कार्यकर्ताहरुले पनि आफ्नो सभापतिले क्लिन चिट पाएको दाबी गरेका छन् । 

छानविन समितिका सभापति सूर्य थापाले गोर्खा मिडिया नेटवर्कमा गरिएको सबै लगानी सहकारीबाटै प्रवाह भएको बताएका छन् । विभिन्न सहकारी संस्थाबाट उक्त कम्पनीमा प्रवाह भएको रकमको सत्य, तथ्य खोज्नेलगायत जिम्मेवारी पूरा गरी आठ सुझाव प्रतिनिधिसभामा पेस गरेको थापाले बताए ।

समितिले संकटग्रस्त २० सहकारी र दुरुपयोगमा संलग्न भनिएका विभिन्न ९ सहकारीको छानबिन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको थियो । समितिले अनुसन्धानका क्रममा सहकारीहरु कानून र इमान विपरित सञ्चालन भएको भेटिएको बताएको छ । सहकारीमा ँ विवाह फेक, अंशबन्डा फेक, पुनः विवाह पनि फेक, साधारणसभा, प्रतिवेदन, शेयर सदस्य, ऋणि, खातादेखि लेखा परीक्षणसमेत फेक रहेको सभापति थापाले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बताएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद