‘शिक्षकका जायज मागको सम्बोधनका लागि हामीले हाम्रोतर्फबाट यथेस्ट प्रयत्न गरिराखेका पनि छौं । थप गर्नुपर्छ भन्ने पनि म आग्रह गर्न चाहन्छु,’ लेखकले भने, ‘यसबारे आजै एउटा निर्णय गर्नुपर्छ । शिक्षक साथीहरुका जायज मागहरुमा कांग्रेस प्रतिबद्ध छ । यसमा हामी अगाडि बढ्छौं भन्दा उचित हुन्छ ।’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका लेखकले प्रतिपक्ष आक्रोशित र अधैर्य हुँदा निरन्तर संसद अवरोधको स्थिति बनेको बताए । ‘प्रतिनिधिसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा हामी छौं । वैशाख २४ गतेदेखि यो अधिवेशन प्रारम्भ भएको हो । आजसम्म प्रतिनिधिसभाका ५५ वटा बैठक बसेका छन् । ५१ दिन हामी बैठक बसेका छौं,’ उनी भन्छन्, ‘यसबीचमा सदन निरन्तर अवरोध हुने परिस्थिति बनिराखेको छ । प्रतिपक्ष आक्रोशित र अधैर्य छ भनेर मैले यसअघिको बैठकमा पनि भनेको थिएँ । त्यो यथावत छ ।’
पशुपतिनाथ मन्दिरको सलहरी, नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको अभिव्यक्ति, सुन तस्करी, कोशी प्रदेशको नाम विनियोजित विधेयकमा उल्लेख नभएको जस्ता स–सना विषयमा पनि संसद अवरोध भएको लेखकले सुनाए ।
‘सदन अवरुद्ध हुँदा सदनले गर्नुपर्ने काम ठीक ढंगले गर्न सकिरहेको छैन । निरन्तरको संसद बैठक अवरोधले संसदीय पद्धतिलाई कमजोर गर्छ । यसले राम्रो गर्दैन भनेर केन्द्रीय कार्यसमितिले बोल्दा राम्रो हुन्छ भन्ने मेरो आग्रह छ,’ उनले भने ।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि आज आयोग गठन हुने भन्दै यसमा सरकारको अग्रसरताको आवश्यकता औल्याए ।
‘सुन तस्करी प्रकरणको अनुसन्धानका लागि आजबाट काम गर्ने गरी एउटा आयोग गठन गर्ने सहमिति भएको थियो । आयोग गठन हुन सकेको छैन । यसमा वार्ता गरेर आज गठन गर्ने कुरा छ । सरकारले यसमा पहल लियोस्,’ लेखकले भने ।
महत्वपूर्ण विधेयकहरु संदनमा प्रस्तुत भएको भन्दै आ–आफ्नो समियिमा रहेका सांसदले विचाराधिन विधेयक अगाडि बढाउन पहल गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसका सांसदको संसदमा उपस्थिति अत्यन्त कमजोर हुने गरेको प्रमुख सचेतक लेखकले गुनासो गरे । ‘कतिपटक कोरम नपुगेर हाउस स्थगित भएको छ । हामी सबै जिम्मेवार छौं । बैठकमा गणपूरक संख्या नपुग्ने कुरा कांग्रेसकै लागि पनि राम्रो होइन । मेरो आग्रह छ– बैठकमा गइदिनुपर्यो,’ लेखकले भने ।
संसदको कार्यसूचीमा कुनै पनि विषय निर्णायर्थ प्रस्तुत भनेर लेखिएको दिन मतदान हुन्छ भन्ने कुरा बुझिदिन उनको आग्रह थियो ।
‘संसदमा सामान्यतया मतदान हुने कार्यसूचीको विषय अन्तिमतिर पर्छ । त्यो दिन भएपनि बैठक नछोडिदिनु होला भन्ने म आग्रह गर्न चाहन्छु । हामीले यत्रो लामो समय सदन सञ्चालन गर्दा पनि बजेट सम्बन्धि बाहेकका विधेयक पास गर्न सकेका छैनौं ,’ लेखकले भने ।
कांग्रेस संसदीय दलले विद्यालय शिक्षा विधेयकमाथि असोवज ८ र ९ गते संसद भवनको ल्होत्स हलमा कार्यक्रा राखेको छ । यस्तै असोज ११ गते विधुत सम्बन्धि विधेयकमाथि छलफल गरिने लेखकले बताए । उक्त विधेयको छलफलमा इच्छुक केन्द्रीय सदस्यलाई पनि लेखकले आमन्त्रण गरेका छन् ।