Media Network

पोर्चुगलमा नेपालीहरुको सहयोगको सारथी बने सुवेदी


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौं।ठूलो सपना र आर्थिक समृद्धिको आशा बोकेर जीवनलाई सरल बनाउने उद्देश्यले विगत दश बर्ष अघि युरोप छिरेका बिक्की सुवेदी अहिले नेपालीहरुको सहाराका सारथी बनेका छन् । पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका उनी अहिले भने समस्यामा परेका नेपालीहरुका लागि अत्यन्तै सहयोगी सारथी भएका छन् । 

पर्वत जिल्लाको कुस्मामा स्थायी घर भएका विक्की हालः युरोयियन मुलुक पोर्चुगलमा बस्छन् । शुरुमा रोजगारीको लागि पोर्चुगल आएका उनी अहिले नेपालीहरुका सबैभन्दा कान्छा ब्यवसायीको रुपमा परिचित छन् । दश बर्ष अघिदेखि ब्यवसायमा सम्लग्न भएका उनले आफ्नो ‘पावरफुल प्रिज्म एलडिए’ नामक कृषि कम्पनी स्थापना गरी विभिन्न आप्रबासीहरुलाई रोजगारी दिएका छन् । यसका अलावा सामाजिक सेवा समेत हात हालेका बिक्कीको समुहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार ब्यक्तीलाई रोजगारी दिएको बताए । उनले यहाँ स्थापना गरेको “हेल्प डेक्स इन पोर्चुगल” नामक संस्था नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी बनेको छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको हो । 

‘जव म रोजगारीका लागि यहाँ आएँ त्यस पछि थाहा भयो बैदेशिक रोजगारी नेपालीहरुले सोचे जस्तो सजिलो रहेनछ । झण्झटिलो कागजी प्रकृयाले धेरै नेपालीहरुलाई समस्यामा परेको अवस्था थियो । तव मलाई, उनीहरुलाई यो परदेशमा सहयोग गर्नु भनेको ठूलो धर्म कमाउनु हो भन्ने भावनाको विकास भएर आयो ।’ एनएरएन क्षेत्रिय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत रहेका विक्कीले भने । यसरी उनी सामाजिक सेवामा दत्तचित्त भएर निरन्तर लागेका छन् । 

नेपालीहरु युरोप किन जान चाहन्छन ? 

धेरै पैसा कमाउने र सम्पन्न हुने सपना सबैको हुन्छ । यसै क्रममा युरोप, अमेरिका, जापान, अस्ट्ेलिया जस्ता मुलुकहरुमा रोजगारीका लागि जानेहरुको संख्या उल्लेख्य रहँदै आएको छ । पढाईको सिलसिला होस वा रोजगारीको । धेरै जसो मानिसहरु ठूलो देश नै जान रुचाउने गर्दछन् । यसै क्रममा नेपालीहरुको गन्तव्य युरोप हुने गर्दछ । युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगल आप्रबासी मामिलामा अलि उदार देश मानिन्छ । जसका कारणले पनि नेपालीहरुको रोजाई यो देश हुने गरेको हो ।

बाहिरबाट हेर्दा जति सजिलो देखिएको भए पनि पोर्चुगलमा अस्थायी बसोबास र कामको अनुमति तथा स्थायी बसोबासको लागि प्रकृया पुरा गर्न निकै कठिन छ । विक्की भन्छन ः कतिपय नेपालीहरु रहरै रहरले लाखौं खर्च गरेर आएका हुन्छन र त्यस्ता ब्यक्तिहरु समस्यामा परेका उदाहरणहरु धेरै छन् । यो देखेर पनि हामीले उनीहरुलाई सहयोग गर्ने गरेका छौं । 

हेल्प डेक्स इन पोर्चुगलः

बिक्की सुवेदीलाई रोजगारीको लागि पोर्चुगल आउँदा कागजी प्रकृयामा निकै समस्या झेल्नु परेको अनुभव छ । आप्रबासन र रोजगारीका लागि निकै मिहेनत गर्नु परेको अनुभव सुनाउँदै उनी भन्छन ः मैले पोर्चुगल आउँदा जे जस्तो समस्याको सामना गर्नु पर्यो त्यसले समेत मलाई यो अभियानमा लाग्न अभिप्रेरित गरेको हो । पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषाको हो । यहाँका हरेक कार्यालयहरुमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन । पोर्चुगिसहरु आफ्नो भाषा प्रति ज्यादै कठोर छन् । कुनै पनि कामका लागि उनीहरु भाषा जान्ने लिएर आउन वा सिकेर आउन सुझाउँछन् । 

अर्कोतिर आप्रबासीहरुले मिलाउनु पर्ने कागजी प्रकृया जथाभावि हुनाले समेत धेरैलाई समस्या पर्ने गर्दछ । कतिपयले नजानीकनै विभिन्न कुरा बताईदिने र सोही अनुसार आप्रबासीहरुले गरेका कारण धेरैले समस्या भोग्नु परिरहेको हुन्छ । आफैंले भोगेको समस्या र अन्य नेपाली तथा आप्रबासीहरुले भोग्दै आएको समस्याले हामीलाई सहयोगी भावना जागृत भई ‘हेल्प डेक्स इन पोर्चुगल’ नामक संस्थाको स्थापना गरेका हौं – बिक्कीले भने ।   

‘हेल्प डेक्स इन पोर्चुगल’को स्थापना भए पछि आप्रबासीहरुका लागि डकुमेण्टेशन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई न्यूनिकरण र समाधान गर्न यो संस्था सहयोगी बनेको छ ।

संस्थाले निम्न सेवाहरु दिईरहेको छ । 

– अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन, ।

– फाइनान्सियल समस्याहरुको समाधान गर्न, विभिन्न सामाजिक कार्यहरु गर्न ।

– फाइनान्स, अस्पताल, फुन्दो, सेफ लगायतमा अनुमति लिन ।

– नेपाल लगायतका विभिन्न मुलुकबाट पोर्चुगल आई समस्यामा परेको नागरिकको प्रहरी रिपोर्ट लिन ।

– पारिवारिक भिसाको लागि अन्तवार्ताको समय निर्धारण गर्न र आधिकारिक कागजात तयार पार्न ।

– बालबालिकाको विद्यालयमा भर्ना गर्ने प्रयोजनका लागि ।

– ब्यापार ब्यावसाय दर्ता प्रकृयाका लागि ।

– कागजात अनुवाद र प्रमाणिकरण गर्न ।

– सरकारी कार्यालयमा भाषाको समस्यामा परेकाहरुलाई सहयोग गर्न । 

– आप्रबासीहरुको बैक खाता खोल्न तथा कारोबार गर्ने प्रयोजनका लागि सहयोग । 

– सेन्जेन भित्रका देशहरुको भिजिट तथा दुतावासहरुसँगको समन्वय र अनुमति दिने प्रयोजनका लागि संस्थाले निरन्तर रुपमा काम गरिरहेको छ । 

– उल्लेखित सेवाहरुलाई सहज रुपमा नागरिकले लिन सकुन भन्ने उद्देश्यले संस्थाले कानुन ब्यवसायी, डाक्टरी तथा विद्यायलका लागि परामर्शदाताहरु लगायतको सेवा प्रदान गर्दै आएको विक्कीले बताए ।

आप्रबासीका मुख्य समस्याः

पोचुगल आउने आप्रबासीहरुको पहिलो समस्या भनेको काम पाउने नै हो । विगत बर्षहरुमा अस्थायी बसोबासको अनुमति पाउन पनि ३÷४ बर्ष लाग्ने गरेको थियो । अहिले केही सहज भएपनि आप्राबासीहरुको बढ्दो चापका कारण बस्ने घर पाउन ठूलो समस्या झेल्नु पर्दछ । पहिलाको तुलनामा अहिले बहाल दस्तुरमा समेत सतप्रतिशत बृद्धि भएको छ । 

यहाँ आप्रबासी हेर्ने सरकारी निकाय सेफ -Foreign service and borders बाटै जिल्ला अनुसार आ–आफ्नो फरक फरक निर्णय गर्ने गरेका कारण कहाँ कस्को कसरी काम हुने भन्नेमा पनि अन्यौल रहेको छ । 

अहिले पनि पोर्चुगलमा अबैध बाटोबाट आउनेहरुको संख्या उल्लेख्य रहेको पाइन्छ । महिनौ दिनसम्म हिँडेर, भोक प्यास र रोगसँग जुध्दै आप्रबासीहरु यहाँ आउने गरेका छन् । यसरी आउनेहरुका पासपोर्टहरु बाटैमा पुलिसले जफत गरिदिने, कतिपयले आफैं फालेर, च्यातेर आउने गरेकाले पनि पोर्चुगल आएपछि समस्यामा पर्ने गर्दछन् । पोर्चुगलमा हालसम्म नेपाली दुतावास छैन । जसका कारण फ्रान्स स्थित दुतावासले हेर्नुपर्ने अबस्था छ । जसले गर्दा अहिले इ–पासपोर्टले समस्या आएको हुँदा झनै गाह्रो बनाएको हो । पासपोर्ट बनाउन स्वयं ब्यक्ती नै फ्रान्स पुग्नु पर्ने हुन्छ । तर, उनीहरुसँग फ्रान्स दुताबाससम्म पुग्नका लागि आधिकारिक कागजात हुँदैन । यो विकराल समस्याको रुपमा यहाँ देखिएको छ । –बिक्कीले वताए ।

पोर्चुगल आउनेहरुले ध्यान दिनु पर्छ 

हाल, करिब चालिस हजार भन्दा धेरैको संख्यामा नेपालीहरु पोर्चुगलमा रहेका छन । यहाँ आउनेहरुले पहिला आफ्नो योग्यता र क्षमतालाई प्रमुखताका साथ ध्यान दिनु पर्ने हुन्छ । मेनपावर र दलालको लहैलहैमा लागेर वास्तविकता नबुझी युरोप आउने चाहना राख्नु जोखिमयुक्त हुन जान्छ । सही सूचनाका आधारमा कामको बारेमा वास्तविकता बुझ्नु जरुरी छ । लिगल प्रकृयाबाट मात्र नेपालीहरुलाई पोर्चुगल आउन सुझाव दिन्छन् यहाँका सहयोगी प्रतिनिधिहरु । दलालहरुको प्रलोभनमा नपरी नेपाल सरकारको आधिकारीक निकायमा सम्पर्क र समन्वय गरेर मात्र युरोप लगायत विभिन्न मुलुकमा कामदारको रुपमा जानु बुद्धिमानी हुने कुराको सुझाव दिन्छन् बैदेशिक रोजगारका जानकारहरु । 

नेपाल सरकारले समेत ४० औं हजारभन्दा बढी नेपाली कामदार रहेको पोर्चुगल जस्तो देशमा राजदुतावास स्थापना गरी नेपालीहरुको समस्या समाधानका लागि ध्याय दिनु जरुरी रहेको छ । 

(पोर्चुगलमा कुनै पनि नेपालीलाई कुनै पनि समस्या आइपरेमा उल्लेखित नम्वरमा कल गरेर समस्याको समाधान गर्न सहयोग पुग्नेछ । ३५१९३३७००४५५, ३५१९६९८४०२८२) 


Share:
Reaction :
ताजा समाचार
खेलकुद