Media Network

प्रधानमन्त्री दाहाल र एनआरएनएबीच भेट : नागरिकता विधेयक प्रमाणीकरणका लागि धन्यवाद व्यक्त


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०८०,सोमबार

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई गैरआवासीय नेपाली संघले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद व्यक्त गरेको छ । संघका उपाध्यक्ष आर. के शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री दाहाललाई भेटी ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा धन्यवाद ज्ञापन गरेको हो ।

भेटकाक्रममा प्रधानमन्त्री दाहालसँग विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्वबोध भएको उल्लेख गर्दै एनआरएनए उपाध्यक्ष शर्माले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्नेमा विश्वास व्यक्त गरे ।  गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकता सम्बन्धी कार्यविधि बनाई कार्यान्वयनको चरणमा पुयाउन आग्रह गरे ।  

साथै एनआरएनएले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत अनुरोध गरेको छ ।  भेटका क्रममा उपाध्यक्ष शर्माले साना–साना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी क्लिन इनर्जी तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा सुनिश्चित प्रतिफल सहितको लगानीको वातावरण बनाउन अनुरोध गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली संघमार्फत धन्यवाद व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताए । साथै उनले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउँदै गैरआवासीय नेपालीहरुका सुझावलाई मनन गरिने बताए । 

उहाँले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए । प्रधानमन्त्री दाहालले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको र आगामी दिन थप सशक्त रुपमा अघि बढ्न एनआरएनएका प्रतिनिधिलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिटै कार्यान्वयनमा आउने जानकारी दिए । भेटका अवसरमा उपस्थित कानुन सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा महान्यायधिवक्ता डा. दिनमणी पोखरेलको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा पोर्चुगल, माल्टा र इराकमा यथाशक्य छिटो दूतावास स्थापना गरी त्यहाँ रहेका नेपालीहरुका समस्या समाधानका लागि संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण समेत गराएको छ । भेटका क्रममा उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टि. बि कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद