Media Network

बालेनसँग किन त्रसित छन् प्रधानमन्त्री ओली ?


खबरस्टोरी संवाददाता

४ आश्विन २०८१,शुक्रबार

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग आक्रामक बन्न थालेका छन् । 

प्रधानमन्त्री ओलीसँग एकपछि अर्को विषयमा विरोध र आलोचना गर्न थालेपछि बालेनविरुद्ध आक्रामक बनेका हुन् । प्रधानमन्त्री ओलीसहित केन्द्र सरकार र राजनीतिक दलका नेताहरुको रवैयाको बालेनले सामाजिक सञ्जालबाट खरो आलोचना गर्छन् । 

गिरीबन्धु टी इस्टेट प्रकरणदेखि विभिन्न भ्रष्टाचारको मुद्दामा मुछिएका प्रधानमन्त्री ओलीले भने बारम्बार आफू भ्रष्टाचारविरोधी भनेर सार्वजनिक अभिब्यक्ति दिइरहन्छन् । तर नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी लगायतमा संलग्नहरुलाई मन्त्री बनाएका ओलीको सुशासनको अभिब्यक्त्प्रिति आलोचना गर्न भने बालेन डराउँदैनन् । 

काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भई पदभार ग्रहण गरेदेखि नै बालेन राजनीतिक दलहरुको घेराबन्दीमा परेका हुन् । राजनीतिक संरक्षणका कारण फोहोर ब्यवस्थापन, अब्यवस्थित फुटपाथ ब्यापार, ब्यवसायिक भवनहरुमा पार्किङ, नदी किनाराका सुकुम्बासी बस्ती हटाउने लगायतका काममा बालेनलाई अवरोध खडा भइरहेको छ । 

काठमाडौं महानगरपालिकाभित्र सुर्तिनिषेध गर्ने उद्देश्यले गुट्का, सुर्ती लगायतका सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने योजनासमेत असफल पारिएपछि बालेन पनि मुलधारका राजनीतिक दलहरुप्रति रुष्ट छन् । त्यसैको आक्रोश मेयर बालेनले समाजिक सञ्जालहरुमा पोख्दै आएका छन् । 

ल्याण्डफिल्ड साइटदेखि र अब्यवस्थित पार्किङ

स्थानीय तहको निर्वाचनको बेलामा काठमाडौं महानगरपालिकाभित्रको फोहोर उठ्न सकेको थिएन । मेयर निर्वाचित भएपछि फोहोरको राजनीतिबाट बालेन मुक्त हुन सकेनन् । राजनीतिक दलहरुको घेराबन्दीकैबीच फोहोर ब्यवस्थापनको अस्थायी समाधान त भयो तर दीर्घकालिन समाधान अझै हुन सकेको छैन । काठमाडौंको फोहोर ब्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल तथा धादिङ र नुवाकोटको सीमानामा पर्ने बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले बेला बेलामा अवरोध गर्ने गरेकै छन् । 

एमाले नेता महेश बस्नेतसँग टकराव

फोहर ब्यवस्थापनको अस्थायी समाधानपछि थालिएको पाकिङ ब्यवस्थापनको अभियानमा पनि बालेन राजनीतिक घेराबन्दीमा परे । ब्यवसायिक भवनको पार्किङ खोजी गर्ने क्रममा बुद्धनगरको अल्फाबिटा कम्प्लेक्समा बालेन डोजर चलाइदिए । त्यसको चोट महेश बस्नेतलाई पर्यो । बस्नेत बालेनविरुद्ध खुला रुपमा नै उत्रिए । बालेनको शुरुवाती कामकै कारण बस्नेत नै नागरिकबाट आलोचित भए । बालेन आफ्नो अभियानबाट पछि हटेनन् । 

सुकुम्बासी बस्ती र खोलाछेउको २० मिटर क्षेत्र 

बालेनको सबैभन्दा ठूलो जोड सुकुम्बासी बस्ती हटाउने नै रह्यो । केन्द्र सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न नसक्नु र उनीहरुको ब्यस्थापन बिना बल प्रयोग गरेर बस्ती हटाउन खोज्दा बालेन असफल भए । साना लगानीका ब्यवसायी, सुकुम्बासी, निम्न वर्गका नागरिकमाथि खेलवाड गरेको भन्दै सत्तासिन दलहरुले बालेनविरुद्ध कार्यकर्तालाई उचाली रहे । सुकुम्बासी बस्तीमा जर्बजस्ती डोजर चलाउन खोज्दा बालेनले सुकुम्बासीहरुको प्रतिरोध आन्दोलनको सामना गर्नुपर्यो ।  

यहि बीचमा सर्वोच्च अदालतले काठमाडौंको नदी तथा खोला किनारमा पहिलेका मापदण्डभन्दा थप २० मिटर क्षेत्र खाली गर्ने आदेशले बालेन उत्साहित भए । हतार गर्न अदालतको आदेशभन्दौ थप २० मिटर क्षेत्रलाई निर्माण निषेधित क्षेत्र भनी सूचना जारी गरेपछि थप विवादित भए । सर्वोच्चको पूर्णपाठले काठमाडौंका ८० हजार घर परिवार प्रभावित हुने भएपछि त्यस क्षेत्रका बासिन्दा मात्र नभई सरकारले समेत फैसलाविरुद्ध भ्याकेट निवेदन दिने निश्कर्षमा पुग्यो । 

एमाले सांसद रेखा शर्मा र नाबालिका हिंसा प्रकरण 


कहिले गिरिबन्धु टी इस्टेट लगायत विभिन्न प्रकरणमा ओलीको ब्यङग्य र आलोचना गर्दै आएका बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदारको रुपमा हिंसा गरेको भन्दै सामाजिक सञ्जालबौ खुलासा गरे ।  

एमालेको उजुरीका कारण समाजिक सञ्जाल फेसबुकले रेखा शर्माको तस्विर सहित बालेनले राखेको स्टाटस नै हटाइदियो । बालेन आफैले डराएर स्टाटस हटाएको भनेर एमाले पंक्ति भ्रम फैलाए । तर वास्ताविकता छानबिन गरी फेसबुकले उक्त स्टाटस रिपोष्ट गरिदिएपछि एमाले पंक्तिलाई नै लज्जित बनायो । 

फेसबुकमा ‘ओली अनफलो’ अभियान 

बालेनविरुद्ध प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै अभिब्यक्ति दिन थालेपछि बालेनका समर्थकहरुले एक्कासी प्रधानमन्त्री ओलीको समाजिक सञ्जालमा अनफलो अभियान चलाए । एकै दिनमा एक लाख बढीले ओलीको फेसबुक अनफलो गरिदिए । अनफलो घट्दै गएपछि पार्टी पंक्तिलाई आह्वान गरी ओलीले आफ्नो घट्दो लोकप्रियतालाई पुर्न बाध्य भए । 

एक्लो बालेनसँग ओलीको हाउगुजी 

नेकपा एमालेले देशभर आफ्नो ८ लाख बढी पार्टी सदस्य रहेको दाबी गरेको छ । आगामी ८४ निर्वाचनअघि सदस्यता दोब्बर बनाउने एमालेले बताइरहेको छ । तर बालेनका समर्थकहरुलाई सडकमा देख्दासमेत ओली त्रसित बनिरहेका छन् । असोज १ गते इन्द्रजात्राको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा बालेनको तस्विर अंकित टिसर्ट लगाएकाहरुलाई नै पक्राउ गर्न ओलीले आदेश दिए । बालेनको तस्विर अंकित टीसर्ट लगाएका युवाहरुलाई पक्राउ गरी प्रहरीको जनसेवावृत्तमा झण्डै तीन घण्टा थुनेर राखियो । ओली सहभागी हुने बसन्तपुरको उक्त कार्यक्रम सकिएपछि मात्रै बालेन टीसर्टधारीहरुलाई छाडियो । बालेनका समर्थकहरुलाई ठीक पार्न भनी अ‍ोलीले पार्टीको कार्यक्रममा कार्यकर्ताहरुलाई निर्देशन नै दिएका छन् । उनकै निर्देशनका कारण संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्ट हेर्न पुगेका बालेनका समर्थकहरु एमाले कार्यकर्ताबाट कुटिए । बालेनको समर्थनमा युवाहरुको जमात बढ्दै गएपछि देशकै दोस्रो ठूलो दलका प्रधानमन्त्री ओलीलाई तर्सिरहेका छन् ।    




Share:
Reaction :
ताजा समाचार
खेलकुद