Media Network

महासंघको चुनावका ४ आकांक्षी


खबरस्टोरी संवाददाता

२६ माघ २०७९,बिहीबार

काठमाडौँ । देशभरका उद्योगी/व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिदै जाँदा  वरिष्ठ उपाध्यक्ष बन्ने दौडधुप सुरु भएको छ । व्यवसायीबीच यही चैत २८ र २९ मा हुने महासंघको साधारण सभा तथा निर्वाचनबाट महासंघको २१औँ अध्यक्ष बन्ने दौडधुप सुरु भएको हो ।

महासंघले प्रत्येक ३/३ वर्षमा आफ्नो भावी अध्यक्ष चुन्दै आएको छ । महासंघमा साधारण सभा तथा निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष चुनिने छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यो प्रावधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः महासंघको २०औँ अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले महासंघको निर्वाचन सोही पदमा केन्द्रीत हुँदै आएको छ । सोही कारण, वरिष्ठ उपाध्यक्ष बन्ने दौड सुरु भएको व्ययवसायीहरु बताउँछन् । हाल देशमा व्यवसायीहरूको ३ वटा छाता सङ्गठन (महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स) छन् । यीमध्ये, महासंघमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चुनिँदै आएको छ भने अन्य दुई संस्थामा आपसी समझदारीमार्फत नेतृत्व चुनिँदै आएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष बनेर भावी अध्यक्ष बन्ने दौडमा हाल ४ जना व्यवसायी छन् । अध्यक्षको दौडमा वस्तुगततर्फका उपाध्यक्ष अन्जान श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाई भावी अध्यक्षको दौडमा छन् । यसबाहेक, व्यवसायी उमेशलाल प्रधान समेत भावी अध्यक्ष बन्ने दौडमा लागेका छन् । हाल यी ४ जना नै वरिष्ठ उपाध्यक्ष बन्न आन्तरिक तयारीमा लागिरहेका हुन् ।

अघिल्लो निर्वाचनमा आ–आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका प्रतिस्पर्धीले आउँदो निर्वाचनलाई हालसम्म प्यानल भने बनाएका छैनन् । अघिल्लो निर्वाचनमा उपाध्यक्षद्वय अन्जान श्रेष्ठ र दिनेश श्रेष्ठ वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधान पक्षमा थिए । यस्तै, एसोसिएट उपाध्यक्ष संघाई वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष चन्द्र ढकाल पक्षमा थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद