Media Network

क्यानडा उड्न लागेका युवाले जब भिसा र टिकट नक्कली भएको चाल पाए !


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०८०,बिहीबार

दाङ । विदेश लैजाने बहानामा मानिसहरु दिनानुदिन ठगिने क्रम बढ्दो छ । विदेश लगेर काम लगाईदिने देखि लिएर ठुलो तलब स्केलमा रोजगार दिलाईदिने भन्दै रकम असुली गर्ने गिरोह सक्रिय छन् । जसको ज्वलन्त उदाहरण नक्कली भुटानी शरणार्थीलाई लिन सकिन्छ । जहाँ राज्यका कस्ता कस्ता निकायमा संम्लग्न व्यक्तिहरुको आबद्धता रहन्छ भन्ने कुराको प्रमाणित यो प्रकरणले गर्दछ ।

त्यस्तै वैदेशिक रोजगारी सम्बन्धि एउटा नयाँ ठगी प्रकरणमा दाङका यूवाहरु फसेका छन् ।तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुरका गंगाबहादुर डाँगी करिब २ महिनाअघि तुलसीपुर–७ बस्ने अंकित अधिकारीले क्यानडा पठाउने भन्ने बारेमा थाहा पाए।

त्यसपछि उनले अंकितसँग भेटेर क्यानडा जान सबै कुराको जानकारी लिएर जान शुरु गरे। उनलाई अंकितले क्यानडामा मासिक साढे ३ लाख कमाइ हुने र पठाउन २५ लाख खर्च लाग्ने बताए।शुरुमा उनले अंकितको खातामा मोबाइल बैंकिङमार्फत एक लाख र दोस्रोपटक ३५ हजार हालिदिए। त्यसपछि उनीसँगै अरूलाई अंकितले बायोमेट्रिकका लागि भारतको दिल्ली लगे। त्यसपछि उनले तपाईँहरूको भिसा आयो भनेर पैसा माग्न शुरु गरे।

भिसा आयो भनेपछि गंगाले अंकितको खातामा फेरि ५ लाख रुपैयाँ हालिदिए। फेरि उनले ७९ हजार हालिदिए। फेरि ८ लाख हालिदिए र अन्तिममा ९ लाख ६० हजार हालिदिए। यो सबै गरेर उनले करिब २५ लाख दिए ।

पिडितका अनुसार ‘जेठ १६ गते तपाईँहरूको उडान छ भनेर खबर आयो । घरबाट बिदा भएर काठमाडौँ सम्म टोली पुग्यो । काठमाडौँमा ३०–३५ हजारको किनमेल समेत भयो, जाने दिन नक्कली भिसा र टिकट रहेको खुलेपछि आफुहरु ठगिएको थाहा पाए ।

आफूले गाउँमा २ देखि ३ प्रतिशत ब्याजमा पैसा जम्मा गरेका उनीहरुले त्यही पैसाका कारण घरमा नराम्रो भएको भन्दै यसरी आफूहरूलाई ठग्ने अंकितलाई कारबाहीको माग गर्दै वैदेशिक रोजगार विभाग र जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमा पनि निवेदन दिएका छन् ।

अंकितले क्यानडा र पोल्याण्ड पठाउने भनेर अहिलेसम्म २१ जनाबाट १ करोड ६३ लाख रुपैयाँ उठाएर भागेका पिडितहरुले तुलसीपुरमा पत्रकार सम्मेलन नै गरेका थिए ।यसैगरी रोहित केसीले पनि उनलाई क्यानडा जाने भनेर २७ लाख रुपैयाँ विभिन्न समयमा बुझाएको र क्यानडा जान काठमाडौँ गएको उड्ने दिनसम्म कुनै पनि कागजपत्र नपाएपछि आफू ठगिएको चाल पाएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद